नेपाल केरा उत्पादक महासंघले केराको आयात रोक्न सरकारसँग माग गरेको छ।
महासंघको तदर्थ समितिका अध्यक्ष विष्णुहरि पन्तले अहिले स्वदेशी उत्पादनले बजारको माग थेगिरहेकाले आयात रोक्न माग गरेका छन्।
हाल नेपालमा उत्साहजनरुपमा केराको उत्पादन भइरहेको र विद्यमान अवस्थामा दसैं, तिहार र छठको समयमा नेपाली उत्पादनले नै बजारको माग थेग्ने पन्त बताउँछन्।
‘नेपाली बजारमा विदेशी केरा निर्वाधरुपमा आयात भइरहेको हुँदा नेपाली अर्थतन्त्र, वैदेशिक व्यापार घाटा, रोजगारमा प्रत्यक्षरुपमा असर पर्ने भएकाले आयात नगरिदिन केरा व्यवसायीको आग्रह छ,’ पन्तले सेतोपाटीसँग भने, ‘यहीँ पर्याप्त उत्पादन हुने समयमा गरिने आयातले नेपाली व्यवसायिक केरा उत्पादक किसानहरु विस्थापित हुनसक्ने खतरा बढ्छ।’
पन्तले विस्थापित हुने अवस्था आएमा केरा उत्पादक किसानहरुको आक्रोश आन्दोलन र विद्रोहतर्फ जानसक्ने चेतावनी दिए।
‘हामी सबै संघ, संस्था र व्यापारीहरुले देशको विषम परिस्थितिलाईसमेत मध्यनजर गर्दै आयात गरिरहेका व्यापारीहरुसँग समन्वय र छलफल गरि असोज ६ गते पछाडि भारतबाट केराको आयात नगर्न, नगराउन अनुरोध गर्छौं,’ पन्तले भने, ‘बलजफती आयात गरेमा नेपाली केरा किसान वा समर्थकले पुर्याउनसक्ने क्षतिको जवाफदेही महासंघ हुनेछैन।’
चितवन, कैलाली, कञ्चनपुर, बर्दिया, नवलपरासीका केरा उत्पादक संघ, केरा जोन समन्वय समिति नवलपरासीले पनि केराको अयात रोक्न सरकारसँग माग गरेका छन्।