काठमाडौंसहित देशभरिका विभिन्न सहरमा रहेका भाटभटेनी सुपरमार्केटमा आगजनी गर्दा अस्थिपञ्जरहरू फेला परेका छन्।
बुधबार मात्रै काठमाडौंको कोटेश्वरमा रहेको भाटभटेनीको चौथो तलामा मानव अस्थिपञ्जर फेला परेको छ। योसँगै भाटभटेनीमा जलेर चिन्न नसकिने अवस्थामा फेला परेको अस्थिपञ्जरको संख्या १२ पुगेको छ।
यसअघि धरानस्थित भाटभटेनीमा चार वटा, काठमाडौंको चुच्चेपीमा ६ वटा, विराटनगरमा एउटा फेला परेको छ।
यसरी फेला परेका अस्थिपञ्जरहरू आफ्ना कर्मचारीका नभएको भाटभटेनीले प्रहरीलाई जानकारी गराएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी विनोद घिमिरेले भाटभटेनी त्यो दिन बन्द भइसकेकाले त्यहाँ भित्र परेकाहरू आफ्ना कर्मचारी नरहेको जानकारी दिएको बताए।
‘उहाँहरूले कर्मचारी होइनन् भन्नुभएको छ। अन्य कोही पस्दा परेको हुनसक्छ। त्यसबारे अब डिएनएबाट प्रमाणित हुन्छ,’ उनले भने।
यी १२ वटामध्ये एउटा मात्रै सनाखत गर्न सकेको छ। कोटेश्वरमा फेला परेको अस्थिपञ्जर छेउमा एउटा सिमकार्ड फेला परेको हो।
प्रहरीले त्यही सिमको आधारमा पहिचान गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए।
कोटेश्वरमा फेला परेका मृतक रामेछाप खाडादेवी गाउँपालिका-६ घर भई ललितपुरको च्यासल बस्ने २२ वर्षीय विकास रसाइली छन्।
‘नजिकै सिम फेला परेको र आफन्तले समेत हराएको उजुरी दिएको हिसाबले सनाखत गरिएको हो,’ एसपी बोहराले भने।
यद्यपि उक्त शवको डिएनए टेष्ट समेत गरिनेछ।
प्रहरीले विभिन्न स्थानमा फेला परेका अस्थिपञ्जरको सनाखत गर्नका लागि डिएनए टेष्ट गर्नुपर्ने देखिएको छ।
भदौ २३ र २४ गते भएको प्रदर्शन, तोडफोड र लुटपाटको घटनापछि कतिपय व्यक्तिहरू हराएको हुनसक्ने प्रहरीको भनाइ छ।
यस्ता हराएका व्यक्तिहरूलाई सनाखतका लागि सम्पर्कमा आउन पनि अनुरोध गरेको थियो।
काठमाडौंको परिसरमा मात्रै चार वटा निवेदन परेका छन्। तर सनाखत गर्न डिएनए टेष्ट भइसकेको छैन।