पोखराको अमरसिंह चोकस्थित अमरसिंह माध्यमिक विद्यालयको नाममा रहेको जग्गामा टहरा बनाएर व्यवसाय गर्दै आएका व्यवसायीले आफै टहरा भत्काउन थालेका छन्।
अमरसिंह माविको नाममा रहेको जग्गा भाडामा लिएर ५२ जना व्यवसायीले टहरा बनाएर व्यवसाय संचालन गर्दै आएका थिए।
विद्यालयले नयाँ व्यावसायिक भवन बनाउन पुराना टहरा भत्काउन सूचना जारी गरेसँगै व्यवसायीले आफै टहरा भत्काउन थालेका हुन्।
पोखराका मेयर धनराज आचार्य, विद्यालय प्रशासन, व्यवसायीबीच नयाँ बन्ने भनिएको व्यावसायिक भवन बनेपछि पुरानै व्यवसायीलाई प्राथमिकता दिने सहमति भएपछि आफै टहरा भत्काउन थालेको व्यवसायी ओम सुवेदीले बताए।
‘हामीले विद्यालयसँग जग्गा भाडामा लिएर टहरा बनाएर बसेका हौं, नयाँ व्यावसायिक भवन बनाएपछि पुरानै व्यवसायीलाई प्राथमिकता दिने सहमति भएको छ,’ उनले भने, ‘सहमति भएपछि हामी आाफैले टहरा भत्काउन थालेका हौं।’
अमरसिंह माविले २०३६ सालदेखि उक्त जग्गा भाडामा दिएको थियो। उक्त स्थानमा विद्यलायको नाममा २४० रोपनी जग्गा रहेको छ। विद्यालयका प्रध्यानाध्यापक बलराम पोखरेलका अनुसार जग्गा भाडामा दिएर मासिक २ लाख ३८ हजार रुपैयाँ विद्यालयले आम्दानी गर्दै आएको थियो। करिब ४० वर्षदेखि उक्त जग्गा भाडामा लगाएर विद्यालयको शौक्षिक उन्नयनमा खर्च गरेको उनले बताए।
‘विद्यलायमा धेरै जना शिक्षक आन्तरिक स्रोतबाट राखिएका छन्, उहाँहरूलाई तलब खुवाउन भाडाबाट उठेको पैसा प्रयोग गरिन्थ्यो,’ उनले भने, ‘महानगरबाट शिक्षकलाई तलब खुवाउन सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएपछि हामीले टहरा हटाउन खोजेका हौं।’
पोखराको अमरसिंह मावि गण्डकी प्रदेशमा पहिलो देशभरका सामुदायिक विद्यालयमा तेस्रो स्थानमा रहेको पनि उनले बताए।
विद्यालयमा अहिले ३ हजार विद्यार्थी अध्ययनरत छन्। उनीहरूलाई अध्यापन गराउन सरकारी दरबन्दीबाट ३५ जना शिक्षक छन्। विद्यालयमा आंशिक शिक्षक १०० जना र पूर्णकालीन शिक्षक ४० जना रहेको प्रध्यानाध्यापक पोखरेलले बताए।
विद्यार्थी संख्याका आधारमा थप शिक्षक माग गरे पनि सरकारले उपलब्ध गराउन नसकेको उनको गुनासो छ।
टहरा भएको ठाउँमा व्यावसायिक भवन बनाएर भाडामा लगाउने विषयमा छलफल भए पनि निर्णय नभएको उनले बताए।
‘अमरसिंह चोकमै भएकाले खाली जग्गामा विजनेस कम्प्लेकस बनाउने सामान्य कुराकानी भएको छ, यसको निर्णय भएको छैन,’ उनले भने।
पोखरा महानगरका मेयर धनराज आचार्यले अमरसिंह चोकमै रहेको जग्गामा संरचनामा व्यावसायिक संरचना बनाउन तयारी भएको बताए।
विद्यालयले नै चलाउने गरी संरचना बनाएर भाडामा लगाउने र आम्दानी विद्यालयकै उन्यनमा खर्च गर्ने गरी तयारी गरिएको उनले बताए। व्यावसायिक संरचना बनाउँदा चोक पछाडि रहेको चौर खाली नै रहने गरी अगाडी मात्र संरचना बनाउने उनको भनाइ छ।
‘अमरसिंह चोकको अगाडिको भागमा सहरी सौन्दर्य नबिग्रने गरी संरचना बनाउन डिजाइ गर्दैछौं,’ उनले भने, ‘सार्वजनिक निजी साझेदारी मोडलमा संरचना बनाउने र पछाडिको चौर खुला नै राख्ने गरी डिजाइन गर्दैछौं।’