ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा नक्कली ब्रान्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले छापा मारेको छ।
उक्त स्थानबाट ठूलो मात्रा महँगा ब्रान्डका रक्सी समेत बरामद गरिएको सशस्त्रका प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा सोही ठाउँमा रहेको विर्खबहादुर तामाङको घरमा अवैध रूपले नक्कली मदिरा तयार गरिरहेका चार जनालाई समेत नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएकाहरूमा रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिका–२ बस्ने ३० वर्षिय मनोज खत्री, सोही जिल्लाको खिम्ति गाउँपालिका बस्ने २८ वर्षिय विनोद तामाङ, २६ वर्षीय विवेक तामाङ र सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका–६ बस्ने २२ वर्षीय छिदेन निमा तामाङ छन्।
साथै सशस्त्र प्रहरीले सोही ठाउँबाट रक्सी बनाउन प्रयोग हुने केमिकल तथा उपकरण, राजस्वको स्टिकर र होलोग्राम समेत बरामद गरेको छ।
डिएसपी थापाका अनुसार बरामद रक्सी ठूलो परिमाणमा रहेकाले यकिन गर्न सकिएको छैन।
नियन्त्रणमा लिइएकाहरूलाई बरामद सामानसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको पनि उनले बताए।