धादिङ धुनिवेशीका नागरिकलाई नागढुंगा सुरूङले रोजगारी दिने भएको छ।
धुनिवेशी नगरपालिकाले मंगलबार सूचना प्रकाशित गर्दै सुरूङमार्ग निर्माण तथा सञ्चालनको क्रममा प्रभावित हुने स्थानीय बासिन्दालाई प्राथमिकताको आधारमा रोजगारी उपलब्ध गराउने बताएको हो।
नागढुंगा सुरूङ जेठ महिनाको अन्तिमदेखि सञ्चालन गर्ने तयारी भइरहेको छ। सुरूङमार्ग सञ्चालन आफैमा जटिल र प्राविधिक विषय भएकोले सुरूङमार्गमा कार्य गर्ने व्यक्ति प्राविधिक सीप, अनुभव र शैक्षिक योग्यता भएको हुनुपर्ने नगरपालिकाले बताएको छ।
‘अप्राविधिक जनशक्तिको हकमा सुरूङमार्ग निर्माण तथा सञ्चालनको क्रममा प्रभावित हुने स्थानीय बासिन्दालाई प्राथमिकताको आधारमा रोजगारी उपलब्ध गराउन सकिने व्यहोरा उल्लेख गरी सीमित संख्यामा आवश्यक पर्ने अप्राविधिक पदहरूका लागि प्राथमिकीकरण गरी सिफारिस गरी दिन यस नगरपालिकामा अनुरोध भएको छ,’ धुनिवेशी नगरपालिकाले सूचनामार्फत भनेको छ।
१८ वर्ष उमेर पूरा भएको तर ४० वर्ष उमेर ननाघेकाहरूलाई आवश्यक कागजातसहित निवेदन दिन नगरपालिकाले आग्रह गरेको छ।
