आरती न्यौपाने सम्भवतः निजामती सेवामा नयाँ रेकर्ड कायम गर्न सफल बनेकी छन्। त्यो हो कान्छो उमेरको सहसचिव।
२०५१ साउन २० मा जन्मेकी उनी ३१ वर्षकै उमेरमा सहसचिव पदमा पुगेकी हुन्। नेपाल प्रशासन सेवा सहसचिव पदको लागि खुलाइएको आवेदनमा महिलातर्फ उनी नाम निकाल्न सफल भएकी हुन्।
यसअघि कम उमेरमै खुला प्रतिस्पर्धाबाट सहसचिव बनेका व्यक्तिका रूपमा प्रदीप परियारलाई लिने गरिएको थियो। उनी ३२ वर्षको उमेरमा सहसचिव बनेका थिए।
त्यस्तै आन्तरिक प्रतिस्पर्धाबाट भने सरिता दुवाली ३१ वर्षमै सहसचिव बनेकी थिइन्। तर खुला महिला प्रतिस्पर्धाबाट ३१ वर्षमा सहसचिव बन्ने उनी पहिलो भएको जानकारहरू बताउँछन्।
२०७५ सालमा प्रशासन सेवाको शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी आरती अहिले सहसचिव बनेकी हुन्।
निजामती सेवाको विद्यमान कानुन अनुसार अधिकृत स्तरमा प्रवेश गरेको सात वर्षपछि मात्र सहसचिवका लागि प्रतिस्पर्धा गर्न पाइन्छ। त्यसैले ३०–३१ वर्षमै सहसचिव बन्ने घटना दुर्लभ मानिन्छ।
सामान्यतया २२–२३ वर्षको उमेरमा स्नातक तह पूरा हुन्छ। त्यसलगत्तै अधिकृतमा नाम निकाल्ने र सात वर्ष पुग्नेबित्तिकै सहसचिव बन्न सफल हुनु सजिलो मानिँदैन। सहसचिव छनोटमा लिखित परीक्षा मात्र नभई समूह छलफल, केस स्टडी र प्रस्तुतीकरणजस्ता चरण पनि पार गर्नुपर्छ।
अधिकृतबाट सुरू भएको यात्रा पाँच वर्षमै उनी उपसचिव बनेकी थिइन्। २०८० सालमा उनी उपसचिव बनेकी थिइन्। त्यसको केही वर्षमै उनी सहसचिव पदमा पुगेकी हुन्।
आरतीले २०६९ सालमा प्लस टु र २०७३ सालमा स्नातक तह पूरा गरेकी हुन्। त्यसपछि उनी उच्च अध्ययनका लागि विदेश गएकी थिइन्। जेनेवा बिजनेस स्कुलबाट उनले ‘मास्टर्स इन इन्टरनेसनल म्यानेजमेन्ट’ गरेकी हुन्।
यो अध्ययन उनले छात्रवृत्तिमा नभई आफ्नै खर्चमा गरेकी थिइन्। अध्ययन बिदामा रहेकै बेला उनले उपसचिवको परीक्षा दिएकी थिइन्। लिखित र अन्य चरण पार गरेपछि भने उनी नेपाल फर्किएकी थिइन्।
निजामती सेवामा प्रवेश गरेपछि सुरूका करिब साढे तीन वर्ष उनले सूर्यविनायक नगरपालिकामा अधिकृतका रूपमा काम गरिन्। त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा करिब एक वर्ष काम गरिन्। हाल भने उनी पर्यटन मन्त्रालयमा कार्यरत छिन्।
आरतीका बुवा शिवराम न्यौपाने पनि सहसचिव पदबाट अवकाश प्राप्त कर्मचारी हुन्। बुवाको इमान्दारी र सार्वजनिक सेवाप्रतिको लगाव देखेरै आफू निजामती सेवातर्फ आकर्षित भएको उनी बताउँछिन्।
लोक सेवाको तयारी गर्ने निर्णय पनि आफ्नै ठूलो चाहनाभन्दा बुवाको सुझावपछि भएको उनी बताउँछन्।
'एक पटक प्रयास गर' भन्ने बुवाको सल्लाहपछि उनले परीक्षा दिएकी थिइन्।
‘हुनै पर्छ, नाम निकाल्नै पर्छ भनेर होइन दिएर हेरौं न त भन्ने हिसाबले आवेदन दिएकी थिएँ, सेक्सन अफिसरमा पनि एकै पटकमा नाम निस्कियो’ न्यौपानेले भनिन्।
उनका श्रीमान् अर्जुन अधिकारी परराष्ट्र मन्त्रालयमा उपसचिव छन्।
आरती आफूलाई सामान्य जीवनशैली मनपर्ने व्यक्ति मान्छिन्। बुवाको सादा जीवनशैलीबाट आफूले धेरै कुरा सिकेको उनी बताउँछिन्।
निजामती सेवामा अहिलेका सेवाग्राहीले छिटो सेवा मात्र होइन, राम्रो व्यवहार पनि खोज्ने र सेवाग्राहीको भाव बुझ्नुपर्ने उनी बताउँछिन्।
निजामती सेवामा उपसचिवसम्मको तहलाई सेवा प्रवाहको तह मानिन्छ। त्यस्तै सहसचिव तथा सचिव तहलाई नीति निर्माण (पोलिसी लेवल) तह मानिन्छ।
सानै उमेरमा सहसचिव बनेकी उनी विगतको अनुभव नयाँ पुस्ताको चाहना र प्रविधिको उपयोगसँगै सेवा प्रवाहमा चुस्तता दिन प्रयास गर्ने प्रतिबद्धता गरिन्।
