पोखरा महानगरपालिकाले फिर्केखोला भित्रका संरचना ३ दिनभित्र हटाउन अल्टिमेटम जारी गरेको छ।
महानगरले बुधबार सूचना प्रकाशित गरी खोलाघर भित्रका संरचना आफै हटाउन र नहटाएमा महानगरले हटाउने उल्लेख गरेको छ। यसरी महानगरले हटाउँदा लाग्ने खर्च पनि सम्बन्धित घरधनीले व्यहोर्नुपर्ने महानगरले जनाएको छ।
‘फिर्के खोलाको खोला घरभित्रका संरचनाहरू सम्बन्धित व्यक्ति तथा संस्था स्वयंले नहटाएमा महानगरपालिका आफैले हटाउने र सो क्रममा लाग्ने लागत समेत सम्बन्धित व्यक्ति तथा संस्थाबाट सरकारी बाँकी सरह असुल उपर गरिने व्यहोरा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ।
फिर्के खोलाको अवस्था अध्ययन गर्न भन्दै पोखरा महानगरले २०८० साउन २ गते भूमि वासुदेव पौडेलको संयोजकत्वमा प्राविधिक समिति गठन गरेको थियो।
प्राविधिक टोलीले बुझाएको प्रतिवेदनमा नापी कार्यालयले उपलब्ध गराएको नक्सा अनुसार खोला तीन मिटरदेखि ४० मिटरसम्म फैलिएको उल्लेख गरिएको छ। जम्मा आठ किलोमिटर लामो खोलामाथि १६० वटा घर र संरचना बनेको प्रतिवेदनमा उल्लेख गरेको छ।
सर्वेक्षक पौडेलका अनुसार कसैले खोलाको केही भाग मात्र अतिक्रमण गरेका छन् भने कसैले खोला पूरै मासेका छन्।
प्रतिवेदनमा खोलो अतिक्रमण गरेर ९७ वटा अस्थायी संरचना बनेका छन्। खोला पूरै मासेर बनाइएका स्थायी संरचना १५ वटा छन्। यसरी नै बनाएका संस्थागत अस्थायी संरचना ८ वटा र संघसंस्थाका स्थायी संरचना ११ वटा छन्।
निजी, सार्वजनिक र सरकारी संरचना अस्थायी र स्थायी गरी १६० वटा छन्। यी सबै संरचनाले फिर्के खोला मिचेका छन्।
फिर्के खोला मिचेर संरचना बनाउनेहरूमा सशस्त्र प्रहरी बल तालिम केन्द्र, लिटल स्टेप स्कुल, पोखरा इन्जिनियरिङ कलेज लगायतका निकायहरू छन्।
प्रतिवेदनमा उल्लेख भएअनुसार खोला मिच्नेमा सरकारी र सार्वजनिक संरचनाभन्दा निजी संरचना बढी छन्। फिर्के खोलामा बगेर आउने फोहोरको डंगुरले फेवातालको ११ रोपनी ४ आना भाग पुरेर चौर बनेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। नापी कार्यालयको रेकर्डअनुसार २०६० सालयता मात्र एउटा खोलाको फोहोरले पुरिएर तालको त्यति जमिन चौर बनेको हो।
पोखरा महानगरको वडा नम्बर २, ४, ५, ७, ८, ६, १७ र १८ हुँदै बग्ने फिर्के खोलाको गहिराइ ४ देखि ९ मिटरसम्म छ। अतिक्रमणले दिनानुदिन साँघुरिएर खोलाको स्वतन्त्र बहाव गुमेको प्रतिवेदनको निष्कर्ष छ।
प्रतिवेदनमा लेखिएको छ, ‘फिर्के खोला फोहोर फालेर डम्पिङ साइटजस्तो भएको छ। खोलाले बगाएर प्लास्टिकजन्य फोहोर, सीसा र विषाक्त रसायन फेवातालसम्म पुर्याएको छ। जसका कारण प्राणीको जीवनमा संकट पर्नुका साथै मानव जीवनमा समेत घातक रोगहरू बढ्ने गरी वातावरणीय प्रदूषण भइरहेको छ।’
एसियाली विकास बैंक ९एडिबी० को दिगो पर्यटन कार्यक्रम अन्तर्गत फिर्के खोलाको दुबै किनारमा साइकल लेन बनाउने महानगरको योजना छ ।
साइकल लेनका लागि फेरि अर्को प्राविधिक नापजाँच गर्नुपर्ने देखिएको छ। पोखरा महानगरले फिर्के खोलाको मापदण्ड किनारबाट ६ मिटर कायम गरेको छ। मापदण्डअनुसार खोलाको भाग खाली गर्न अझ बढी संरचना भत्काउनुपर्ने प्राविधिक टोलीका सदस्यहरू बताउँछन्।
प्राविधिक टोलीले खोल घरका सिमाना छुट्याउन पोलसमेत गाडिसकेको छ।
महानगरले जारी गरेको सूचनामा पोल गाडिएको ठाउँभित्रका संरचना हटाउन २०८० कात्तिक १० गते ३५ दिने सूचना जारी गरेको थियो। उक्त सूचनाका विरूद्ध उच्च अदालत पोखरामा परेको रिटमा अदालतले उत्प्रेषण गर परमादेशको आदेश जारी गर्न नपर्ने आदेश भएको थियो।
पोखरा महानगरका मेयर धनराज आचार्यले अहिले खोला घरभित्रका संरचना हटाउन खोजिएको बताए। मापदण्ड लागू गर्ने बेला छुट्टै सूचना जारी गर्ने र मापदण्डभित्र लालपूर्जा भएका जग्गाको हकमा मुआब्जा दिने उनले बताए।
‘अहिले खोलाघर मात्र खाली गर्न लागेका हौं, खोलाघर भित्र लालपूर्जा दिन नै मिल्दैन,’ उनले भने, ‘मापदण्ड लागू गर्दा कसैको लालपूर्जा भएको जग्गा जान्छ भने मुआब्जा दिन्छौं।’