हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
यसको प्रभावले कोशीदेखि कोशीदेखि गण्डकीसम्म हल्कादेखि मध्यम तथा भारीदेखि धेरै भारी वर्षा भएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो चौबीस घन्टामा झापाको केचनामा १५२.६ मिलिमिटर वर्षा मापन भएको छ।
चतरामा ९८ मिलिमिटर, संखुवासभाको तुम्लिङटारमा ८७.८ मिलिमिटर, तनहुँको विमलनगरमा ५२ मिलिमिटर वर्षा मापन भएको छ।
बिहीबार दिउँसो कोशी प्रदेश लगायत, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने पूर्वानुमान छ।
त्यस्तै कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागको थोरै स्थानहरूमा, मधेश प्रदेश तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागका साथै बागमती र गण्डकी प्रदेशका तराई भू-भागका एक-दुई स्थानहरूमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ।
बिहीबार राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा, मधेश प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।