उपभोक्ता अदालतले कतार एयरवेजलाई जहाजभित्र तातो कफीले पोलेर घाइते भएकी महिलालाई क्षतिपूर्ति तिर्न फैसला गरेको छ।
बिहीबार अदालतका अध्यक्ष तथा न्यायाधीश दिवाकर भट्ट, सदस्यहरू गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले घाइते भएकी ललितपुरकी प्रिती थापालाई क्षतिपूर्ति तिर्न भन्दै कतार एयरवेजको नाममा फैसला गरेको हो।
कतार एयरवेजलाई मोन्ट्रियल कन्भेन्सन अनुसार २ करोड ४१ लाख ५२ हजार ४०६ रूपैयाँ र उपभोक्ता संरक्षक ऐन अनुसार थप २० लाख रुपैयाँ क्षतिपूर्ति तिराउन भनिएको अदालतका सूचना अधिकारी होमनाथ कँडेलले जानकारी दिए।
उनका अनुसार कतार एयरवेजले कुल २ करोड ६१ लाख ९२ हजार ४०६ रूपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने छ। प्रितीले २० लाख अमेरिकी डलर क्षतिपूर्ति माग गरेकी थिइन्।
फैसलाको पूर्णपाठ आएपछि एयरवेजले क्षतिपूर्ति तिर्ने वा ३० दिनभित्र उच्च अदालतमा पुनरावेदनमा समेत जानसक्ने व्यवस्था छ।
प्रितीले सन् २०२३ मे २६ मा कतार एयरवेजको अधिकारप्राप्त टिकट एजेन्सी प्रोफिसिएन्ट ट्राभल्स प्रालिमार्फत काठमाडौं–दोहा–बोस्टन तथा बोस्टन–दोहा–काठमाडौं रूटको दुईतर्फी हवाई टिकट किनेकी थिइन्।
त्यही टिकट सम्झौता बमोजिम प्रिती सन् २०२३ जुन १० मा काठमाडौंबाट दोहा हुँदै बोस्टन पुगिन्।
एक महिनापछि सन् २०२३ जुलाई १० मा बोस्टनबाट कतार एयरवेजको क्युआर-७४४ विमानमार्फत दोहा हुँदै क्युआर-६४८ विमानबाट २०२३ जुलाई १० मा काठमाडौं फर्किने तालिका थियो।
बोस्टनस्थित एडवार्ड एल लोगन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेज क्युआर-७४४ विमानमार्फत यात्रा गर्ने क्रममा चालक दलका सदस्यले प्रितीलाई अत्यधिक तातो कफी दिइएको थियो।
उक्त कफीले प्रितीको पेट, तिघ्रा तथा संवेदनशील अंगहरूमा परी गम्भीर जलन भयो।
विमान हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि एयरपोर्टस्थित आकस्मिक स्वास्थ्य सेवामा प्राथमिक उपचार गराइएको थियो। उक्त उपचार क्रममा प्रितीको चोट 'सेकेन्ड डिग्री बर्न' भएको देखिएको थियो।
जलन भएपछि उनले उपभोक्ता संरक्षण ऐन र मोन्ट्रियल कन्भेन्सन अनुसार क्षतिपूर्ति माग गरेकी थिइन्।