दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका– ७ मा सडकबाट ४०० मिटर तल कर्णाली नदीमा खसेको गाडीको चालक र सहचालक सहोदर दाजु-भाइ रहेको खुलेको छ।
सुर्खेतबाट कालिकोटका लागि छुटेको क.प्र.०२–००१ ख १०५५ नम्बरको यात्रुबहाक गाडी बिहीबार बिहान बिहान साढे ११ बजेतिर कर्णाली नदीमा खसेको थियो।
वर्षाले नदीमा जलसतह बढेको र पानी धमिलो भएका कारण गाडी अझै फेला परेको छैन।
उक्त गाडी सुर्खेतको पञ्चपुरी नगरपालिका-८७ माझीगाउँका २८ वर्षीय तुलाराम सुवेदीले चलाएका थिए। गाडीमा उनका सहोदर दाइ ३१ वर्षीय रामप्रसाद सुवेदी सहचालक रहको खुलेको छ। उनीहरू दुवैको अवस्था अज्ञात छ।
तुलारामले गएको दसैँमा मात्रै त्यो गाडी किनेका थिए। उनको काका नाता पर्ने डिल्ली सुवेदीका अनुसार त्यसअघि तुलाराम दिदीको गाडी चलाउँथे। त्यो रूटम तुलारामले आफ्नै गाडी चलाउन थालेको दुई-तीन महिना मात्रै भएको थियो।
गाडी किनेपछि तुलारामले भारतमा रहेका आफ्ना दाइ रामप्रसादलाई पनि बोलाएका थिए। दाजु-भाइ मिलेर काम गर्दा घर गृहस्थी चलाउन पनि सजिलो हुँदै गएको थियो।
डिल्लीका अनुसार दुवै दाजु-भाइका श्रीमती र स-साना छोरा-छोरी पनि छन्। दुई भाइ नै कर्णालीमा अलप भएको खबरले घर परिवार, आफन्त र छरछिमेक तनावमा रहेको डिल्लीले बताउँछन्।
उनीहरुले छिटोभन्दा छिटो खोजी गरिदिन सरकारसँग आग्रह गरेका छन्।
'आफ्नो ठाउँमा केही गरौं भनेर ऋण लिएर गाडी किनेका थिए। सबै कर्णालीले लग्यो,' काका डिल्लीले भने। रामप्रसाद र तुलारामका श्रीमती कलिला सन्तान च्यापेर श्रीमान खोज्न घटनास्थल गएका छन्।
रामप्रसाद र तुलाराममध्ये एक जनाले दैलेखको एउटा होटेलमा फोन गरेर आफूहरू आउँदै गरेको जानकारी गराउँदै खाना तयार राख्न भनेको पनि खुलेको छ।
तै पनि गाडीमा कति यात्रु थिए भनेर अहिलेसम्म नखुलेको दैलेखका प्रहरी प्रमुख डिएसपी श्रवणकुमार विश्वकर्माले जानकारी दिए। गाडीमा ५ देखि ६ जना सवार रहेको प्रहरीको अनुमान छ।
डिएसपी विश्वकर्माका अनुसार गाडी भीरबाट खस्दै गर्दा बीचमै खसेका एक व्यक्ति भीरमा मृत फेला परेका थिए। उनी कालिकोटको पञ्चालझरना गाउँपालिका – ९ का ५४ वर्षीय जेखे तिरुवा भएको आफन्तले सनाखत गरेका छन्।
प्रहरीका अनुसार शुक्रबार बिहानदेखि फेरि दुर्घटनास्थल कर्णाली नदी आसपासमा खोजी सुरु भएको छ । केही दक्षिणको नदी किनारसम्म पुगेर खोजी कार्य भइरहेको डिएसपी विश्वकर्माले बताए ।
‘हिजो जस्तै आज पनि एपिएफका गोताखोरहरुबाट कर्णालीमा डुबेका गाडी संगै यात्रुको खोजी गर्ने कार्य सुरु भएको छ,’ उनले भने ‘ तर पानी परेकाले खोजीकार्यमा कठिनाइ भएको छ।’
बेपत्ता गाडीसहित मानिसहरुको खोजीका लागि झन्डै एक सय हाराहारी सुरक्षाकर्मी र त्यत्तिकै संख्यामा स्थानीय लागि परेका छन् ।
डिएसपी विश्वकर्माका अनुसार दुर्घटनास्थल अफ्ठ्यारो र जोखिमयुक्त स्थान भने होइन । घुम्ती वा मोड तथा ठूलो उकालो पनि छैन । त्यहाँ कालोपत्रे सडक छ ।
‘सामान्य उकालो भएको हुँदा गाडी तीब्र गतिमा थियो कि भन्ने अवस्था पनि देखिँदैन भने त्यहाँ कालोपत्रे बाटो छ भने घुम्ती वा मोड पनि छैन,’ उनले भने, ‘अचानक उत्पन्न यान्त्रिक त्रुटि वा सामान्य मानवीय त्रुटिका कारण गाडी कर्णालीमा खसेको छ।’
थप कुरा अनुसन्धानपछि खुल्ने उनले बताए।