चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
कुरिनटारस्थित कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि कुटपिट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
बिहीबार बिहान करिब साढे १० बजे ठेक्कापट्टा सम्बन्धी विषयमा प्रमुख प्रशासकीय अधिकृत बस्नेतको कार्यकक्षमा छलफल भइरहेका बेला खगेडी खोलाको ठेक्का लिएका मुख्य ठेकेदार लालबहादुर गोलेसँग आएका २/४ जनाले उनीसँग वादविवाद गर्दै कुटपिट गरेका थिए।
कुटपिटमा संलग्न व्यक्तिहरू प्रदेश ३-०१-०२३ च ८४६० नम्बरको गाडीमा फरार भएका थिए।
इलाका प्रहरी कार्यालय गजुरी, धादिङले उक्त गाडीसहित चालक बारा जितपुरसिमरा उपमहानगरपालिका-१८ बस्ने ३७ वर्षीय वीरबहादुर मोक्तान (आकाश लामा) र चितवन भरतपुर महानगरपालिका १८ बस्ने २७ वर्षीय ईश्वर पाण्डे (अटल)लाई नियन्त्रणमा लिएको छ।
घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।