विषालु सर्पलाई खेलाउने क्रममा टोकेर अर्घाखाँचीमा एक युवाको मृत्यु भएको छ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं. १ चिदिका बड डाँडा निवासी २३ वर्षीय पुष्कर कुमालको सर्पले टोकेर मृत्यु भएको हो।
वडा नं. १ का वडा अध्यक्ष काजी बाबु ज्ञवालीका अनुसार कुमालले शुक्रवार साँझ सर्प समातेर गाउँमा खेलाउँदै हिँडेका थिए।
सर्पलाई समात्ने र खेलाउने क्रममा साँझ ८ बजेतिर अचानक उनलाई टोकेको थियो। तर, पुष्करले सर्पले टोकेकोबारे घर परिवारलाई जानकारी दिएका थिएनन्।
वडा अध्यक्ष ज्ञवालीका अनुसार पुष्करले मादक पदार्थ सेवन गरेका कारण सर्पले टोके पनि दुखाइ महसुस नगरेको र सर्पको टोकाइ पछिका लक्षण देखिएपछि शनिबार बिहान ८ बजे मात्र उपचारका लागि अस्पताल ल्याइएको थियो।
बिहान अर्घाखाँचीबाट कपिलवस्तुको गोरुसिङ्गेस्थित सर्प दंश उपचार केन्द्रमा ल्याई पुर्याउँदा उनको अवस्था अत्यन्त गम्भीर अवस्थामा पुगिसकेको थियो।
गोरुसिङ्गे सर्प दंश उपचार केन्द्रले उनलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरेको थियो।
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको लागि लगिए पनि चिकित्सकले परीक्षण गरी उनलाई मृत घोषणा गरेको वडा अध्यक्ष ज्ञवालीले बताए।