दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा शनिबार साँझ धान रोप्ने क्रममा चट्याङ लाग्दा तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार साँझ करिब ५:४५ बजे खेतमा धान रोपिरहेका बेला चट्याङ पर्दा बङ्गालाचुली गाउँपालिका–२ मर्फेस निवासी २९ वर्षीया कमला थापा, २६ वर्षीया दिपा थापा र ३४ वर्षीय सन्दिप बिक घाइते भएका हुन्।
घाइतेमध्ये कमला थापा र दिपा थापाको शरीरमा बाहिरी चोट नदेखिए पनि अवस्था गम्भीर रहेको छ। सन्दिप बिकको अवस्था भने मध्यम रहेको एसपी दीपक श्रेष्ठले जानकारी दिए।
तीनै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नारायणपुरबाट प्रहरी नायब निरीक्षक प्रकाश शाहीको कमाण्डमा चार सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
घटनास्थल इलाका प्रहरी कार्यालय नारायणपुरबाट करिब ५ किलोमिटर पश्चिममा पर्दछ।