डोल्पामा आइतबार बिहान आएको लेदोसहितको बाढीमा परी गम्भीर घाइते एक जना महिलालाई हेलिकोप्टर मार्फट सुर्खेत लगिएको छ।
जिल्लाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँकी ४४ वर्षीया रेउली विकलाई नेपाली सेनाको हेलिकप्टरबाट केही बेर अघि सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालका लागि पठाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी अनिलराज गिरीले जानकारी दिए।
रेउलीको कम्मर मुनीको भागमा गम्भीर चोट रहेको हुँदा थप उपचारका लागि उद्धार गरी सुर्खेतका लागि पठाइएको डिएसपी गिरीले बताए।
गृहमन्त्रालयसँग समन्वय गरी नेपाली सेनाको हेलिकोप्टर मागिएको प्रहरी प्रशासनले जनाएको छ। आइतबार बिहान करिब ३ बजेतिर स्थानीय धुलाखोला बाट आएको लेदोसहितको बाढी घरमा पसेर पुरेपछि सुतिरहेकी स्थानीय ५६ वर्षीया आनन्दी विकको मृत्यु भएको थियो।
दुर्घटनामा अन्य ५ घाइते भने उपचार पछि डिस्चार्ज भइ सकेको प्रहरीले जनाएको छ।
हिलोसहितको बाढी गाउँ बस्तिमा पसेपछि एउटा घर पूर्ण रुपमा र अन्य आठ घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।
क्षतिको बिवरण संकलन कार्य जारी रहेको प्रहरीले जनाएको छ।
घटनास्थलमा तीन वटै सुरक्षा अंगहरु परिचालित छन्। उनीहरु स्थानीयका सरसामान खोजी, क्षतिको विवरण शकलन तथा उद्धारका लागि खटिएका छन्।