गत बिहीबार (असार १८ गते) कर्णाली नदीमा खसेको गाडी अझै भेटिएको छैन।
बिहानीपख सुर्खेतबाट कालीकोट जाँदै गरेको क.प्र.०२–००१ ख १०५५ नम्बरको यात्रुबाहक गाडी बिहान साढे ११ बजेतिर दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका– ७ स्थित सडकबाट कर्णाली नदीमा खसेको थियो।
झन्डै ४ सय मिटर तलको कर्णाली नदीमा खसेको गाडी र त्यसमा सवार यात्रुहरू चार दिन बितिसक्दा पनि भेटिएको छैन।
गाडी खोज्न तीनवटै सुरक्षा निकाय नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलबाट टोली खटिएका छन्।
खोजीका लागि सेनाले आइतबार मात्रै थप टोली पठाउन लागेको छ।
दैलेखको कालीदत्त गुल्मका मेजर सवलजंग शाहका अनुसार अहिलेसम्म नेपाली सेनाबाट मात्रै ४५ जनाको टोली खटिएको छ। एउटा टोलीले उत्तर र अर्को टोलीले दक्षिणबाट मोटरबोट प्रयोग गरी खोजीकार्य जारी राखेका छन्।
खोजीका लागि शनिबार हेलिकप्टर र ड्रोनसमेत परिचालन गरिएको थियो। आइतबार थपिने टोलीमा गोताखोर तालिमप्राप्त सैनिकहरू रहेको मेजर शाहले जानकारी दिए।
सुर्खेतस्थित पृतनाबाट विषेश टोली आइ पुगेपछि खोजीमा खटिने सैनिकको संख्या ६० बढी पुग्ने मेजर शाहले बताए।
यता सशस्त्र प्रहरीको गोताखोरसहितको टोली पनि बिहीबारदेखि नै घटनास्थलमा खटिएको छ। सुर्खेतबाट पुगेको गोताखोरको ६ जनाको विषेश टोलीले निरन्तर खोजी गरिरहेको छ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट बिषेशज्ञको अर्को टोली पनि खोजी कार्यमा खटिएको छ ।
शनिबार दिउँसोदेखि सो टोलीले पानीभित्र खोजीका लागि प्रयोग हुने सोनार क्यामेरा, रिभर भेहिकल म्याग्नेट, बोरस्कोप क्यामेरा, ड्रोन लगायतका उपकरण पनि प्रयोग गरेको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी सयभन्दा बढी सुरक्षाकर्मी प्रत्यक्ष रुपमा खोजी कार्यमा खटिइरहेका छन्।
दैलेखका प्रहरी प्रमुख डिएसपी श्रवणकुमार विश्वकर्माका अनुसार वर्षाका कारण कर्णालीको वहाब बढेको र पानी धमिलो हुँदा खोजी कार्यमा कठिनाइ भएको हो।
अहिलेसम्म कर्णालीमा गाडीसँगै खसेर वेपत्ता भएका चार जनाको पहिचान भने भएको छ। त्यसबाहेक गाडीबाट उछिट्टिएर भीरमा अड्किएको अवस्थामा मृत भेटिएका थिए।
गाडी चालक सुर्खेतको पञ्चपुरी नगरपालिका – ८ माझीगाउँका तुलसीराम सुवेदी, सहचालक समेत रहेका उनका सहोदर दाइ रामप्रसाद सुवेदी, कालीकोटको रास्कोट नगरपालिका – २ खड्का गाउँकी सिर्जना खड्का र कालीकोट पाचल झरना गाउँपालिक– ९ का मेखे तिरुवा बेपत्ता छन्।
भीरमा मृत भेटिएका व्यक्ति कालीकोटका पाचल झरना गाउँपालिका-९ का ४५ वर्षीय जेखे तिरूवा हुन्। उनको शप पोस्टमर्टमपछि परिवारले बुझिसकेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पुष्पराज रोकायाले जानकारी दिए।
गाडी खसेको चार दिन बितिसक्दा बेपत्ता भएका बाँकी यात्रुहरू फेला नपरेकाले उनीहरू जीवित भेटिने सम्भावना कम हुँदै गएको छ।
-1783246986.jpg)
-1783246986.jpg)
-1783246986.jpg)
-1783246985.jpg)