त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा आइतबार अपराह्न ५ बजेसम्म ६९ वटा शव ल्याइएको छ।
तीमध्ये ११ जनाको मात्र पहिचान खुलेको छ।
भोटेकोशी-त्रिशूलीमा बाढी आएको भदौ १० गते बेलुकादेखि नै टिचिङ अस्पतालमा शव ल्याउन थालिएको थियो।
शनिबारसम्म ल्याइएका शवहरूको पहिचान गर्न सक्ने अवस्था नै थिएन।
आज ल्याइएका शवहरूको भने पहिचान खुल्न सक्ने अवस्थामा रहेको टिचिङ अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले जानकारी दिए।
उनकाअनुसार शनिबारसम्म ४२ वटा शव आएकोमा आज थपिएर कुल संख्या ६९ पुगेको छ। 'हिजो जम्मा ४ जनाको मात्र पहिचान खुलेको थियो। आज ७ जनाको पहिचान खुलेको छ,' उनले भने, 'पहिचान खुल्ने क्रम जारी छ।'
उनकाअनुसार आइतबार ल्याइएका शव तुलनात्मक रूपमा पहिचान गर्न सकिने अवस्थाका रहेकाले यो संख्या अझै बढ्दै गएको छ।
अस्पतालमा शव राख्ने क्षमता अभाव भएको भन्दै केही भ्रामक खबर बाहिरिएको भन्दै उनले उक्त कुरा सत्य नभएको बताए।
'अस्पतालमा कुल २०० जनासम्म शव राख्न सकिन्छ। करिब ५० वटा मात्र पुराना शवहरू रहेकाले व्यवस्थापनमा कुनै समस्या छैन,' उनले भने।
यस्तै, बाढीमा परेर घाइते भएका ६३ जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ।
जसमध्येमा ६ जनाको आइसियू उपचार भइरहेको छ। सामान्य घाइतेहरू उपचारपछि डिस्चार्ज हुने क्रममा रहेको उनको भनाइ छ।