रसुवामा आएको बाढीका कारण अहिलेसम्म ७८१ जनाको शव फेला परेको छ।
आइतबार साँझ ६ बजेसम्म विभिन्न जिल्लाबाट ७८१ जनाको शव फेला परेको र करिब २ हजार ५०२ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार चितवनमा २७२, नवलपरासी पूर्वमा १९९, नवलपरासी पश्चिममा १००, धादिङमा ५०, गोरखा ५८, नुवाकोटमा ५२, तनहुँमा ३७, रसुवामा १३ जनाको शव भेटिएको हो।
त्यस्तै बेपत्ता हुनेमा रसुवाबाट ५६२, विदेशी नागरीक ५९२, विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली १२७, जलविद्युत आयोजनाबाट १३३, नुवाकोटबाट ११५, मकवानपुरबाट ६५ जना छन्।
नेपाल प्रहरीबाट २५, सेनाबाट ४५, सशस्त्र प्रहरीबाट १३, भन्सार कार्यालयबाट १५, अध्यागमन कार्यालयबाट ४, लाङटाङ राष्ट्रिय निकुञ्जबाट ३, क्वारेन्टाइन कार्यालयबाट ३ जना अझै बेपत्ता छन्।
हालसम्म ९ हजार ४३५ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
यसमा जलविद्युतको सुरुङबाट भदौ १२ गते १९१ र भदौ १३ गते ८८ गरी कुल २७९ जनाको उद्धार गरिएको प्राधिकरणको विवरणमा छ।
सेनाको हेलिकप्टरमार्फत २४४ जना विदेशी र ३ हजार ६७ जना नेपाली गरी कुल ३ हजार ३११ जनाको हवाई उद्धार गरिएको छ।
आज (आइतबार) मात्रै हाइड्रोबाट १५ जना चिनियाँ नागरिकको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
हवाई उद्धारका लागि हालसम्म ३९४ वटा उडान (आज मात्रै ७२ उडान) भएका छन्। घटनामा हालसम्म २६७ जना घाइते भएका छन्, जसमध्ये १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। प्रभावित क्षेत्रमा ६ वटा सर्जिकल मेडिकल टिम परिचालन गरिएको छ।
खोज तथा उद्धारका लागि कुल २० हजार ६१८ जना सुरक्षाकर्मी मैदानमा खटिएका छन्। जसमा सेना ८ हजार ५२१, नेपाल प्रहरी ७ हजार ८९४, सशस्त्र प्रहरी ४ हजार २०३ जना खटिएका छन्।
पहिचान खुल्न नसकेका शवहरूलाई विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको छ। पहिचान नखुलेका शवहरूको विवरण र थप जानकारीका लागि नेपाल प्रहरीको वेबसाइट (udb.nepalpolice.gov.np/disaster) तथा प्राधिकरणको आधिकारिक फेसबुक पेज हेर्न सकिनेछ।