माथिल्लो त्रिशूली ३ 'ए' को सुरूङबाट ९ दिनपछि उद्धार गरिएका सप्तरीका सञ्जय साहले आफू फसेको ठाउँनजिकै अरू ३/४ जना भएको बताएका छन्।
नेपाली सेनासँग कुरा गर्दै उनले पावर हाउसमा अरू पनि हुन सक्ने बताएका हुन्।
‘म कन्ट्रोल रूपमा अपरेटर काम गर्थें, अरू बेला ५/६ जना मात्रै हुन्थे, यतिबेला ४०/४५ जना नै थियो। कन्ट्रोल रूममा भएपछि मेरो जिम्मेवारी सबैको ज्यान बचाउनु थियो,’ उनले नेपाली सेनासँग कुराकानीका क्रममा भनेका छन्, ‘त्यस्तो घटना भएपछि म एक्लै भागेर भएन, सबैलाई बचाउनुपर्यो। सबैलाई भनेँ, ड्याममा दुर्घटना भयो। सबैलाई बाहिर भाग्न लगाएँ। त्यसो गर्दा मेरो समय गयो, म निस्कनँ पाएन।’
सुरूङभित्र केही मानिसहरूले कुराकानी गरेको सुनेको उनले बताए। ‘पावर हाउसभित्र पनि मानिस हुन सक्छन्, भाग्न नसकेको हुन सक्छ,’ उनले भने।
आफू महामन्त्र जप्दै बसेकोसमेत उनले बताएका थिए।
सुरूङमा फसेको ९ दिनपछि सेनाले सञ्जयसहित काठमाडौंका कविर महर्जनलाई उद्धार गरेको छ।
सञ्जय नेपाल विद्युत प्राधिकरणका मेकानिकल फोरम्यान र कविर प्राधिकरणकै सुपरभाइजर हुन्।