भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि अनेरास्ववियु रूपन्देहीले करिब १० लाख रुपैयाँ बराबरको राहत सामग्री सङ्कलन गरी रसुवागढीतर्फ पठाएको छ।
गत भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्नसँगै भाँडा वर्तन, लत्ताकपडा, ओढ्ने ओछ्याउने तथा सरसफाइ र स्वास्थ्य सम्बन्धी सामग्री सहितको राहत लिएर बाढी प्रभावित क्षेत्र रसुवातर्फ लागिएको अनेरास्ववियु रूपन्देहीका अध्यक्ष अर्जुन गैरेले जानकारी दिए।
गैरेले बाढी प्रभावितहरूलाई खाद्यान्न भन्दा लत्ता कपडा, ओढ्ने ओछ्याउने, भाँडा वर्तन, , सरसफाइ लगायतका सामाग्रीको अभाव भएको जानकारी पाएपछि त्यही अनुसारका सामग्री संकलन गरिएको बताए।
चामल र चिउरा सँगै लगाउने कपडा, ओढ्ने ओछ्याउने, खाना पकाउने डेक्ची, कराई, दिउरी, खाना खाने थाल, कचौरा, चम्चा, गिलास, जग, कपाल कोर्ने काइँयो, ऐना, त्रिपाल, नुहाउने, कपडा धुने र भाँडा माझ्ने साबुन, स्याम्पु, हेण्डवास लगायतका सामाग्री रहेका छन्।
करिब १० लाख बराबरको दुई गाडी राहत सामग्री लिएर गैरे सहित जिल्ला कमिटी सचिव सरोज खनाल, पूर्ण रोका र बुटवल बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष शशाङ्क बस्यालसहितको टोली शुक्रवार रसुवागढीतर्फ प्रस्थान गरेको हो।
बाढी तथा पहिरोका कारण जनजीवन प्रभावित भएको अवस्थामा खाद्यान्न सँगै परिवारमा रहेका बालबालिका र महिलाका लागि विशेष प्रकारका सामग्रीको अभाव हुने भएकोले त्यही प्रकारका सामग्री सङ्कलन गरिएको गैरेले जानकारी दिए।
सङ्कलित सामग्री प्रभावित क्षेत्रका पुर्याएर स्थानीय तह तथा अन्य निकायमार्फत बाढी प्रभावितहरूको अवस्था र आवश्यकता पहिचान गरी हस्तान्तरण गरिने अनेरास्ववियू रूपन्देहीले जनाएको छ।
विपतका समयमा पीडित नागरिकलाई सहयोग गर्नु हरेक नागरिकको सामाजिक दायित्व भएको र त्यही दायित्व बोध गर्दै राहत सङ्कलन अभियान सञ्चालन गरिएको गैरेले बताए।
राहत सामग्री लिएर गएको टोलीले प्रभावित परिवारको आवश्यकता बुझेर थप सहयोगका लागि समेत पहल गर्ने जनाएको छ।