विश्वप्रसिद्ध जलवायु अभियानी ग्रेटा थनबर्गले नेपालमा आएको विनाशकारी बाढीपहिरोपछि धनी तथा औद्योगिक मुलुकहरूले दिने सहयोगलाई दानका रूपमा नभई उनीहरूले तिर्नुपर्ने ‘जलवायु क्षतिपूर्ति’ का रूपमा बुझ्नुपर्ने बताएकी छन्।
शुक्रबार आफ्ना आधिकारिक सामाजिक सञ्जालमा भिडिओ वक्तव्य सार्वजनिक गर्दै थनबर्गले नेपालको विपत्ति जलवायु संकटको परिणाम भएको पनि बताइन्।
जलवायु संकट सिर्जना गर्न सबैभन्दा कम भूमिका भएका मानिसहरूले नै त्यसको सबैभन्दा ठूलो मूल्य चुकाउनुपरेको भन्दै आक्रोश व्यक्त गरिन्।
‘नेपालले पाउनुपर्ने कुरा जलवायु क्षतिपूर्ति हो—पुर्याइएको क्षतिको बदलामा तिर्नुपर्ने रकम हो,’ उनले भनेकी छन्।
उनले नेपालसहित जलवायु संकटको अग्रपंक्तिमा रहेका देशहरूका लागि न्याय सुनिश्चित गर्न आफ्नो मञ्च र प्रभाव प्रयोग गर्ने प्रतिबद्धता पनि जनाएकी छन्।
स्विडेनकी २३ वर्षीया थनबर्ग विश्वकै सबैभन्दा चर्चित जलवायु अभियन्तामध्ये एक हुन्। सन् २०१८ मा १५ वर्षको उमेरमा उनले जलवायु परिवर्तनविरुद्ध प्रभावकारी कदम चाल्न माग गर्दै स्विडेनको संसद् भवनअगाडि एक्लै ‘स्कुल स्ट्राइक’ सुरू गरेकी थिइन्।
उनको अभियान पछि ‘फ्राइडेज फर फ्युचर’ नामको विश्वव्यापी युवा आन्दोलनमा परिणत भयो। संयुक्त राष्ट्रसंघलगायत प्रमुख अन्तर्राष्ट्रिय मञ्चमा उनले संसारका प्रमुख नेताहरू जलवायुको बढ्दो संकटप्रति उदासीन रहने गरेको भन्दै तिखो आलोचना गर्दै आएकी छन्। र यो संकटलाई सबै मिलेर समाधान गर्नुपर्ने भन्दै निरन्तर आवाज उठाउँदै आएकी छन्। सन् २०१९ मा अमेरिकी पत्रिका ‘टाइम’ ले उनलाई वर्ष व्यक्ति घोषणा गरेको थियो।
नेपालले विश्वको ‘कुल हरितगृह ग्यास उत्सर्जन’ मा अत्यन्तै न्यून योगदान गरे पनि हिमताल विस्फोट, हिमनदी र हिउँ पग्लिने क्रम, अनियमित वर्षा तथा पहाडी भूभागको अस्थिरताजस्ता जोखिमको ठूलो भार बेहोरिरहेको छ। यस्ता घटनाहरू बढ्दै जाँदा चिन्ताहरू थपिँदै गएका छन्।
नेपालजस्ता मुलुकहरूले असमान रूपमा भोगिरहेका यस्ता घटनालाई अन्तर्राष्ट्रिय जलवायु बहसमा ‘जलवायु अन्याय’ भनिने गरेको छ।
थनबर्गको अभिव्यक्तिले नेपालको विपत्तिलाई तत्कालीन राहत र सहानुभूतिमा मात्र सीमित नराखी ऐतिहासिक जिम्मेवारी, अनुकूलनका लागि आवश्यक वित्तीय स्रोत र क्षतिपूर्तिको विश्वव्यापी बहससँग जोडेको छ। उनको ठूलो अन्तर्राष्ट्रिय पहुँचका कारण यसले नेपालको जलवायु जोखिम र न्यायको मागलाई विश्वसामु थप स्थापित गर्न मद्दत पुर्याउन सक्छ।
नेपालको पछिल्लो हिम–चट्टान पहिरोमा जलवायु परिवर्तनको ठ्याक्कै कति भूमिका थियो भन्ने वैज्ञानिक निर्क्योल हुन बाँकी छ। विस्तृत अध्ययनबाट यसको यकिन गर्न सकिने वैज्ञानिकहरूको राय छ।