शनिबार पाल्पामा २०७ औँ भगवती रथयात्रा निकालिएको छ।
पाल्पाका तैनाथवाला तत्कालीन कर्णेल उजिर सिंह थापाले युद्धमा अग्रेज फौजमाथि विजय प्राप्त गरेको खुसीयालीमा पाल्पामा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट भगवती रथयात्रा निकालिँदै आएको छ।
नेपाली सेना, युद्ध र विजयसँग जोडिएकोले भगवती रथयात्रा नेपालकै राष्ट्रियता र स्वाधीनतासँग पनि जोडिएको छ।
पाल्पाको नुवाकोट र बुटवलको जितगढिमा विक्रम संवत् १८७१ देखी १८७२ सम्म भएको युद्धमा नेपाली फौजले अंग्रेज माथि विजय हासिल गरेको थियो।
कर्णेल उजिर सिंहले अंग्रेज सँग युद्ध लड्न जानु अघि युद्धमा विजय प्राप्त गरे भगवतीको मन्दिर निर्माण गरी सिन्दूर जात्रा गर्ने छु भन्दै भाकल गरेका थिए। नेपाली फौजले विजय प्राप्त गरेपछि भाकल रुवरुप उनले पाल्पामा भगवतीको मन्दिर निर्माण गरे।
विक्रम संवत् १८७६ मा मन्दिर निर्माण गरी १८७७ साल देखी भगवती रथयात्रा निकाल्न थालेको इतिहास छ। भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जनका अनुसार गुठी मार्फत १८७७ देखि आजसम्म हरेक वर्ष भगवती रथयात्रा निकाल्दै आइएको छ। यस वर्ष पनि शनिवार तानसेनमा सयौँ सर्वसाधारणको उपस्थितिमा भगवती जात्रा निकालिएको छ।
पाल्पा दरबार परिसरबाट रथयात्रा निकाल्नु अघि नेपाली सेनाले सलामी अर्पण गरी बढाई दिएको थियो। रथ उठाएपछि ३ पटक मन्दिरको परिक्रमा गराई नेपाल सरकारको तर्फबाट नेपाली सेना र जिल्ला प्रशासनको हर्षबढाइँ पूजापछि सर्वसाधारणको लागी भगवतीको रथ नगर परिक्रमा गराइएको हो।
जात्रामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगर, वन वातावरण तथा पर्यटन मन्त्री तुलसी प्रसाद चौधरी, प्रतिनिधिसभा सदस्य माधव थापा, प्रदेशका पूर्व स्वास्थ्य मन्त्री खेम बहादुर सारू, सरकारका उच्च पदस्थ व्यक्तिहरूले अवलोकन गरेका थिए।
इतिहासका जानकार निर्मल श्रेष्ठ भगवती रथयात्रा नेपालीको राष्ट्रियतासँग जोडिएको, नागरिकको भावनासँग गाँसिएको र नेपाली सेनाको सान र वीरताको प्रतिकका रूपमा स्थापित भएको बताउँछन्।