रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी नेपाल–चीन अन्तर्राष्ट्रिय सीमा नाकामा नेपालको राष्ट्रिय झन्डा राखिएको छ।
भोटेकोशी नदीमा आएको बाढीका कारण सीमा क्षेत्रमा पुग्ने बाटो क्षतिग्रस्त भएपछि केही समयसम्म त्यहाँ जान सकिएको थिएन।
बाढीपछि सशस्त्र प्रहरी बल, नेपाल र नेपाली सेनाको संयुक्त टोलीले जोखिमपूर्ण बाटो पार गर्दै भदौ १० गते सीमा नाकामा नेपालको झन्डा राखेको हो।
सशस्त्र प्रहरी बलको बिओपी टिमुरेबाट गएको टोलीले जोखिमयुक्त भीर हुँदै करिब तीन किलोमिटर दूरी पार गरेर सीमा क्षेत्रमा पुगेको थियो। नेपाली सेनाको टोली भने हेलिकोप्टरमार्फत त्यहाँ पुगेको थियो।
त्यसपछि दुवै सुरक्षा निकायको टोलीले संयुक्त रूपमा नेपालतर्फको सीमामा राष्ट्रिय झन्डा राखेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।