रसुवागढी जलविद्युत आयोजना सुरुङमा विज्ञसमेत सेनाको टोलीले शनिबारदेखि उद्धार सुरू गरेको छ।
बिहान सेनाको उद्धार टोलीले रेकी गरेपछि ९ः२० बजेदेखि उद्धार कार्य सुरू गरेको हो।
सिनियर जियोलोजिस्ट/टनेल विज्ञ विष्णु शिवाकोटीसहितको नेपाली सेनाको उद्धार टोली आवश्यक उपकरणसहित उद्धारमा खटिएको थियो।
उद्धार टोलीले मलबा (डेब्रिज) सफा गर्दै ट्रान्सफर्मर क्याभर्न हुँदै विद्युत गृहभित्रको कन्ट्रोल रूमभन्दा माथिसम्म पुगेको, त्यस क्रममा डेब्रिज इओटी क्रेनका साथै चिलर रूमभन्दा माथिसम्म पुगेको देखिएको आयोजनाले जनाएको छ।
कन्ट्रोल रूम पूर्ण रूपमा पुरिएको तथा ट्रान्सफर्मर क्याभर्न र विद्युत गृहभित्रका कुनाकुनासम्म खोजी गर्दा पनि कुनै कर्मचारीको अवस्था फेला नपरेको सिनियर जियोलोजिस्ट विष्णु शिवाकोटीले जानकारी दिएका छन्।
उनका अनुसार अहिले नेपाली सेनाको उद्धार टोली पनि बाहिर निस्किएको छ।
यसैगरी, विद्युत गृह (पावरहाउस) भन्दा बाहिरबाट सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका लागि कम्पनीको आफ्नै प्रयत्नबाट दक्ष तथा अनुभवी जनशक्ति (रक क्लाइम्बर) परिचालन गरिएको छ।
घट्टेखोला क्याम्प र सो क्षेत्रमाथि थप ग्राउन्ड सर्च गर्ने गरी सम्झौता गरिएको हिमालय समिट क्लब प्रालिको ८ जनाको टोलीले टिमुरेमा खोजी जारी राखेको छ।
उनीहरूबाट अहिले बेलुकी ७ बजे भएको रिपोर्टिङ अनुसार हालसम्म कुनै पनि कर्मचारीको अवस्था पत्ता लगाउन नसकिएको जानकारी प्राप्त भएको कम्पनीले जनाएको हो। उद्धार काम भने जारी रहनेछ।
बाढीपछि रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ९३ जना सम्पर्कविहीन छन्।
कम्पनीका नियमित कर्मचारी ५१ जना, सञ्चालक एक जना, दैनिक ज्यालादारी कामदार दुई जना र तीन वटा ठेकेदार कम्पनीका ३९ जना सम्पर्कविहीन छन्।
उनीहरूमध्ये करिब १२ जना भित्रै फसेको आशंका गरिएको थियो।