माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरूङबाट शनिबार थप दुई शव निकालिएको छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान नेपालका अनुसार उद्धार टोलीले डिसेन्डर बेसिनको डाउन साइटमा दुई शव फेला पारेको हो।
उद्धार टोलीले शनिबारै उक्त आयोजनाको सुरूङबाट एक जना चिनियाँ नागरिकलाई सकुशल उद्धार गरेको छ।
थप खोज तथा उद्धारको काम निरन्तर भइरहेको छ। अब तीन नम्बर डिसेन्डर बेसिनको पानी र हिलो तानेर उद्धार गरिने उल्लेख गरिएको छ।
यो आयोजनामा उद्धारका लागि सेनासहित कोरियाली, शेर्पा, सर्च ड्रोन टिमलगायतको सक्रियता छ। क्यामरा र विशेष तालिमप्राप्त कुकुरसमेत यस क्षेत्रमा लगिएको छ।
शुक्रबार पनि खोजी तथा उद्धार क्रममा आयोजनास्थलमा ६ जनाको शव फेला परेको थियो।
आयोजनाका अनुसार त्योभन्दा अगाडि बिहीबार पनि एउटा खुट्टा मात्रै भएको शव फेला परेको थियो।
फेला परेका शवहरू चिन्न नसकिने अवस्थामा रहेकाले पहिचान हुन सकेको छैन। यो आयोजनाको भित्र ३०० जना फसेको आशंका छ।