मुटुदेखि मस्तिष्कसम्म रगत पुर्याउने प्रमुख नसा पूर्ण रूपमा बन्द भएको जटिल अवस्थाको चिरफारबिना सफल उपचार गरिएको छ।
काठमाडौ मेडिकल कलेज शिक्षण अस्पतालमा २२ वर्षीया युवती टाकायासु धमनीशोथका कारण मस्तिष्कमा रगत पुर्याउने प्रमुख धमनीका शाखा लामो समयदेखि पूर्ण रूपमा बन्द भएको अवस्थामा अस्पताल पुगेकी थिइन्।
अचानक मस्तिष्कको दायाँ मध्य धमनी बन्द हुँदा उनलाई पक्षघात समेत भएको थियो।
उपचारका क्रममा लामो समयदेखि बन्द धमनीलाई विशेष बेलुनबाट फराकिलो बनाई जाली राखेर रक्तसञ्चार पुनःस्थापित गरिएको र त्यसपछि मस्तिष्कको बन्द धमनीमा रहेको रगतको डल्लो यान्त्रिक विधिबाट निकालेर पुनः रक्तप्रवाह गराइएको न्युरो इन्टरभेन्सनिस्ट डा.अरुण पौडेलले सेतोपाटीलाई बताए।
उनले यस्तो उपचार नेपालमै पहिलो पटक भएको पनि दाबी गरे।
उपचारपछि बिरामीको स्नायुसम्बन्धी अवस्थामा उल्लेखनीय सुधार देखिएको उनले बताए।