भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटको विदुर नगरपालिकाभित्रका विद्यालयहरू आगामी भदौ २४ गतेदेखि पुनः सञ्चालनमा आउने भएका छन्।
नगर कार्यपालिकाको आइतबार बसेको बैठकले बाढीपछि बन्द रहेका विद्यालयहरू सञ्चालन गर्ने निर्णय गरेको हो।
बैठकको निर्णयअनुसार हाल अस्थायी आवास केन्द्रको रूपमा प्रयोग भइरहेका र बाढीबाट पूर्ण रूपमा क्षति पुगेका विद्यालयहरू बाहेक अन्य सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा नियमित पठनपाठन सुरू हुनेछ।
बाढी प्रभावित क्षेत्रका विद्यार्थीहरूको सहजताका लागि नगरपालिकाले लचिलो व्यवस्था र राहतको घोषणा समेत गरेको छ।
विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीका अनुसार बाढीका कारण विस्थापित वा प्रभावित भएका विद्यार्थीहरूले आफूलाई पायक पर्ने जुनसुकै विद्यालयमा गएर अध्ययन गर्न सक्नेछन्।
‘बाढीका कारण धेरै विद्यार्थीहरूको लत्ताकपडा, पोशाक र शैक्षिक सामग्री नष्ट भएका छन्। त्यसैले विद्यार्थीहरू जुनसुकै पोशाक मा पनि विद्यालय जान सक्ने व्यवस्था मिलाइएको छ,’ उपप्रमुख बोगटीले भनेकी छन्, किताब, कापीको व्यवस्थापन नगरले सहज गर्नेछ।’