नेपाली सेनाले विपदमा उद्धारमा खटिएका सबै निकायसँग समन्वय र सहकार्य गरिरहेको बताएको छ।
सोमबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनको क्रममा सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले सबै निकायसँग समन्वय र सहकार्य गरिरहेको बताएका हुन्।
उनका अनुसार तीन वटा सेक्टरमा बाँडफाँट गरी खोज तथा उद्धारको काम अघि बढाएको छ।
‘नेपाली सेनाले नेपाल सरकारको निर्देशन बमोजिम विपदमा सम्बद्ध सबै निकायसँग नजिकबाट समन्वय र सहकार्य गरेर कार्य गरेको छ। हवाई, जमिनी र टनेल खोज तथा उद्धार तीन वटा सेक्टरमा बाँडेर काम गरिरहेका छौं,’ उनले भने।
त्यस्तै विदेशबाट नेपाल आएका उद्धारकर्मीसँग पनि ‘काँधमा काँध’ मिलाएर काम गरिरहेको उनले बताए।
‘परराष्ट्र मन्त्रालयबाट जुन समन्वय भएर नेपाली सेनाले ज्वाइन्टली काम गरी हाम्रा छिमेकी तथा मित्र राष्ट्रहरूबाट सहयोग प्राप्त भएको छ। यसको लागि हामी आभारी छौं। हामी उहाँहरूसँग काँधमा काँध मिलाएर टनेल इलाकामा खोज तथा उद्धार कार्यलाई अझ प्रभावकारी बनाउन प्रतिबद्ध बनाउन पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छु,’ उनले भने।
यसैगरी नेपाली सेनाका ४५ जना सैनिक पनि बेपत्ता भएको उनले बताए।
‘नेपाली सेनाको पनि ४५ जना वीर सपुतहरू हराइरहनुभएको छ। उहाँहरूको पनि खोजीका लागि तदारूकताका साथ सबै सरोकारवाला निकायसँग मिलेर खोजी गरिरहेको जानकारी गराउँदछु,’ उनले भने।