मकवानपुरको बकैया गाउँपालिका–१२ धारापानीमा ३५ वर्षीय पुरूष घरमै मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार मानबहादुर खत्रीका छोरा राजकुमार खत्रीलाई भदौ १९ गते दिउँसो करिब १ः१५ बजे आफ्नै घरको सुत्ने कोठामा मृत अवस्थामा फेला पारिएको हो।
घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी निरीक्षक सुशान्त मिश्रको कमाण्डमा टोली घटनास्थल पुगेको थियो।
थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा 'सोको' टोली तथा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट तालिमप्राप्त कुकुर सहितको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ।
प्रहरीले प्रारम्भिक घटनास्थल मुचुल्का तयार गरी शव पोस्टमर्टमका लागि हेटौंडा अस्पताल पठाएको थियो।
घटनाबारे अनुसन्धानका लागि मृतककी श्रीमती सलिना घले, आमा गोमा खत्री, भाइ दिनेश खत्री तथा अमर खत्री र राजेन्द्र घले गरी पाँच जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको प्रहरीले जनाएको छ।
पोस्टमार्टमपछि भदौ २२ गते दिउँसो २ बजे मृतककी दिदी सजिना खत्रीले शव बुझेर लगेको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।