युक्रेनका सहयोगी पश्चिमा देशहरूको सैन्य अभ्यास भइरहेका बेला रुसी क्रुज मिसाइल पोल्यान्डको भूभागमा खसेको छ।
पोल्यान्डले शुक्रबार आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका तीन वस्तुमध्ये एउटा रुसले प्रहार गरेको क्रुज मिसाइल रहेको जनाएको छ।
पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले यो घटना संयोगवश भएको जस्तो नदेखिएको बताएका छन्।
उनले रुसी गतिविधिलाई उक्साहटको संज्ञा दिँदै आफ्नो देशको हवाई क्षेत्र उल्लंघन भएको घटनालाई गम्भीर रूपमा लिएको बताएका छन्।
पोल्यान्डका रक्षामन्त्री व्लादिस्लाव कोसिनियाक-कामिस्जका अनुसार मिसाइल युक्रेनको सीमाबाट करिब ५० किलोमिटर टाढा दक्षिणपूर्वी पोल्यान्डको नोवी लिपोभिच क्षेत्रमा खसेको थियो।
स्थानीय समयअनुसार बिहान करिब साढे ६ बजे खसेको मिसाइलले कुनै मानवीय वा भौतिक क्षति पुर्याएको छैन।
त्यसैगरी अर्को शंकास्पद मिसाइल रुडनिक नाद सान क्षेत्रमा र जेट इन्जिनबाट चल्ने ड्रोन मोलोडिच क्षेत्रमा खसेको रक्षामन्त्रीले बताएका छन्।
घटनापछि पोल्यान्डले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सँग थप सहयोग माग्ने जनाएको छ।
यो घटना दक्षिणपूर्वी पोल्यान्डमा बेलायत र फ्रान्सको नेतृत्वमा भइरहेको सैन्य अभ्यासका क्रममा भएको हो।
युक्रेनमा सम्भावित शान्ति सम्झौता कार्यान्वयन गर्नुपर्ने अवस्था आए त्यसका लागि तयारी गर्ने उद्देश्यले भइरहेको उक्त अभ्यासमा ११ देश सहभागी छन्।
यी देशहरू युक्रेनलाई सहयोग गर्ने ‘कोलिसन अफ द विलिङ’ समूहका सदस्य हुन्।
प्रधानमन्त्री टस्कले सैन्य अभ्यास भइरहेको स्थाननजिकै रुसी मिसाइल र अन्य वस्तु खस्नु संयोग नभएको बताएका छन्।
घटनापछि बेलायत, फ्रान्स, पोल्यान्ड, इस्टोनिया र लिथुआनियाका रक्षामन्त्रीले सैन्य अभ्यास भइरहेको क्षेत्रको भ्रमण गरेका थिए।
बेलायतका रक्षामन्त्री वेस स्ट्रिटिङले यसलाई युरोपलाई विभाजित गर्ने र युक्रेनलाई सहयोग गरिरहेका देशलाई निरुत्साहित गर्ने रुसको अर्को उक्साहटपूर्ण गतिविधि भनेका छन्।
नेटोका महासचिव मार्क रुटेले पनि पोल्यान्डको हवाई क्षेत्रमा भएको गम्भीर उल्लंघनको निन्दा गरेका छन्। घटनापछि नेटोका लडाकु विमान परिचालन गरिएको उनले बताएका छन्।
‘यो घटना स्पष्ट रूपमा खतरनाक छ। युक्रेनविरुद्ध रुसले जारी राखेको युद्धकै परिणाम हो,’ रुटेले भनेका छन्।
स्थानीय बासिन्दा नताली श्पोनारले बिहान छोराछोरीलाई विद्यालय जान तयार पारिरहेका बेला सिटी बजेजस्तो आवाज र त्यसपछि कुनै वस्तु ठोक्किएको मधुरो आवाज सुनेको बताएकी छन्।
खेतमा जडान गरिएको क्यामेरामा मिसाइल खसेको दृश्यसमेत कैद भएको थियो। अधिकारीहरूले भने घटनास्थल आसपासका बासिन्दालाई कुनै खतरा नरहेको बताएका छन्।
रुसले भने यस घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
यो घटना युक्रेनमाथि रुसले सन् २०२२ मा पूर्णस्तरको आक्रमण सुरु गरेयताकै ठूलो हवाई आक्रमणमध्ये एकका क्रममा भएको हो।
शुक्रबार रुसले युक्रेनका विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन प्रहार गरेको थियो। आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको समाचारमा उल्लेख छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगर क्रिभी रिहमा भएको आक्रमणमा दुई जनाको मृत्यु भएको थियो।
मारिनेमा २० वर्षीया महिला र सात वर्षीय बालक छन्। उक्त आक्रमणमा कम्तीमा ४० जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन्।
युक्रेनमा रुसले आक्रमण सुरु गरेयता युद्धको प्रभाव पोल्यान्डसम्म पुगेको यो पहिलो घटना भने होइन।
सन् २०२२ नोभेम्बरमा पनि युक्रेनमा रुसी आक्रमण भइरहेका बेला पोल्यान्डमा मिसाइल खसेर दुई जना किसानको मृत्यु भएको थियो।
त्यतिबेला उक्त मिसाइल रुसी आक्रमण रोक्न प्रयोग गरिएको युक्रेनी हवाई प्रतिरक्षा प्रणालीबाट प्रहार भएको हुन सक्ने प्रारम्भिक निष्कर्ष निकालिएको थियो।
यसैबीच, मोल्दोभाले पनि शुक्रबार रुसले युक्रेनमा गरेको आक्रमणका क्रममा एउटा ड्रोन आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको जनाएको छ।
रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेयता आफ्नो हवाई क्षेत्रमा ११८ पटक उल्लंघन भएको मोल्दोभाको रक्षा मन्त्रालयले जनाएको छ।