हामी आममान्छे
(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने लोकतन्त्रमा महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँका आममान्छेसँग कुरा गरेको छ। जेनजी आन्दोलनपछि सरकारको कामबारे, राजनीतिक दल र नेताहरूबारे उनीहरूको धारणा बुझ्ने प्रयास गरेको छ। त्यस्तै राज्यको सेवा प्रवाह र राजनीतिक परिवर्तनले उनीहरूको दैनिक जीवनमा पारेको प्रभावलाई उनीहरूले कसरी अनुभूत गरिरहेका छन् भन्ने पनि सोधेको छ – सम्पादकीय नोट)
दाङ, तुलसीपुरको स्टार चोकमा २५ वर्षीया रमा वलीले ब्युटिपार्लर खोलेको ६ महिना पुग्दैछ।
विदेशबाट फर्केर आफ्नै देशमा केही गर्ने सोचका साथ रूकुम पश्चिमकी रमाले यहाँ पार्लर खोलेकी हुन्।
हामीले उनलाई सोध्यौं —
पहिले आफ्नो बारेमा भन्नुहोस् न। परिवारमा को को हुनुहुन्छ र के काम गर्नुहुन्छ?
मेरो घर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–७, मेलपोखरी हो। राप्ती राजमार्ग अन्तर्गत तुलसीपुरको यो स्टार चोकमा मैले ब्युटिपार्लर चलाउँदै आएकी छु। यो खोलेको ६ महिना जति हुन थाल्यो।
म माल्दिभ्सबाट दुई वर्षपछि फर्केकी हुँ। त्योभन्दा पहिला मैले यहीँ तुलसीपुरमै ब्युटिपार्लर चलाएकी थिएँ।
विदेशमा गई केही कमाएर ल्याई अझै राम्रो र ठूलो पसल खोल्ने सपना देखेर विदेश गएकी थिएँ। विदेशमा क्याफेमा वेटर थिएँ। तर त्यहाँ भनेको जस्तो भएन। साहुले पासपोर्ट पनि दिएन। अर्को ठाउँमा काम गर्न जान्छौं भन्दा चेन्ज लेटर पनि दिएन।
हामीलाई ठगियो। ६ महिनाको तलब पनि दिएन। त्यसपछि म र अन्य केही साथीहरू त्यहाँबाट भागेर स्वदेश फर्किएका थियौं।
मेरो पहाड घरमा आमा, बुबा र भाइ बस्नुहुन्छ। दिदीको बिहे सल्यानमा भएको छ। दाजु छुट्टिभिन्न भएर अलग बस्नुहुन्छ।
तपाईंको काम, कमाइ र घरखर्च अहिले कसरी चलिरहेको छ?
यो सबै भाडामा हो। सटरको पाँच हजार रूपैयाँ भाडा छ। कोठा भाडा दुई हजार रूपैयाँ छ। मेहनतले अहिलेसम्म आफूलाई खान–लाउन पुगेको छ।
यो बजारभन्दा केही टाढा छ। त्यसैले सोचेजस्तो त चलेको छैन। आशा छ, भविष्यमा राम्रो हुने छ। मुख्य बजारमै गर्न खोजेकी थिएँ, तर त्यहाँ भनेको जस्तो कोठा पाउनै सकिनँ। पाएको ठाउँको भाडा ज्यादै महँगो थियो।
अहिले तपाईं र तपाईंको परिवारलाई सबभन्दा बढी चिन्ता लागेको कुरा के हो?
मलाई अहिले सुरू गरेको पार्लर कस्तो होला, राम्रो चल्ला कि नचल्ला भन्ने चिन्ता लाग्छ। आफ्नै मेहनतले यही तुलसीपुरमै आफ्नो लागि एउटा घर बनाउने सपना मनमा छ।
त्यो सपनाको घर कहिले र कसरी पूरा होला भन्ने मनमा छ।
तपाईंको बिहे भएको छ वा छैन? त्यसको योजनामा हुनुहुन्छ कि?
हालसम्मका दिनहरू संघर्षमै बिते। यति बेलासम्म मनले खाएको मान्छे फेला परेको छैन। अहिले त्यस्तो कुनै योजना बनिसकेको छैन। कलिलै उमेरमा कसैलाई मनले औधि रूचाएको थियो। त्यो अल्लारे उमेरको प्रेम कर्कलाको पानीजस्तै थियो।
मेरो हुनेवाला श्रीमान गरिब होस् तर इमानदार होस् भन्ने चाहना छ। लागुऔषध तथा मदिराको अम्मली फेला नपरोस्।
तपाईं आफै विदेशबाट फर्किएको मान्छे, फेरि जान मन छ कि छैन? तपाईंको घरपरिवार वा नातागोताका युवाहरू नेपालमै केही गर्न चाहन्छन् कि विदेश जान चाहन्छन्, किन?
अब फेरि विदेश जान मन छैन। म आफ्नै ठाउँमा केही गर्न चाहनासहित फर्किएकी हुँ। विदेशमा पनि दुःख छ। बिरानो मुलुकमा सजिलो हुने कुरै हुँदैन। आफ्नो को हुन्छ र?
विदेशमा केही नेपालीले निकै तल्लो तहको काम गरेको मैले देखेकी थिएँ। सकभर कसलाई बिरानो मुलुक जाने चाहना हुँदो हो र? यहाँ कुनै उपाय नै नचलेपछि मानिस विदेश जान बाध्य हुने हो।
प्लस–टू पूरा गरेकी म पनि त्यो बेला भनेको जस्तो काम नपाएपछि र व्यापारमा पनि सोचे जस्तो नभएपछि विदेश जान्छु र कमाएर ल्याई फेरि व्यवसाय गर्छु भन्ने सोचले गएकी थिएँ। तर विदेश कल्पना गरेको जस्तो मात्रै कहाँ हुँदो रहेछ र?
यतिखेर मेरै भाइ पनि प्लस–टू सकेर जागिर, कामको खोजीमा छ। इलेक्ट्रिसियन पढेको उसले घरमै बसेर लोक सेवाको पनि तयारी गरिरहेको छ।
तर ऊ अझै एक वर्ष प्रयास गर्छु, काम नपाए विदेश जान्छु भन्छ। उसका लागि यो रहरभन्दा पनि बाध्यता बन्न सक्छ।
पोहोर भूकम्पले घर बस्न नमिल्ने बनाएको थियो। अहिले पक्की नयाँ घर बनाउँदा ऋण लागेको छ। २० लाख बैंकबाट र अरू ५ लाखजति गाउँघरका आफन्तसँग गरेको ऋणले घर बनाएको हो। त्यो ऋण कसरी तिर्ने भन्ने चिन्ता उसलाई हुनु स्वाभाविक हो।
जेनजी आन्दोलन हुँदा तपाईंलाई के लागेको थियो?
त्यो बेला म विदेशमै थिएँ। सामाजिक सञ्जाल र समाचारहरूमा मानिसहरू धेरै मरेको खबरहरू हेर्दा ड्युटी गर्न मन लागेको थिएन। आफ्नै देशमा आगो लागेको भिडिओ तथा तस्बिर देख्दा मन साह्रै आत्तिएको थियो। चिन्ता लागेको थियो।
विदेश छँदा झनै घर, समाज र देशको याद आउँदो रहेछ। माया लाग्दो रहेछ। नेपाल र नेपाली भन्नासाथ मन हुरूक्कै हुँदो रहेछ।
युवाहरू किन सडकमा आएका हुन् जस्तो लाग्छ? उनीहरू सबैभन्दा बढी के कुराले रिसाएका थिए?
मेरो विचारमा सामाजिक सञ्जाल बन्द गरेपछि सबैभन्दा धेरै रिसाएका थिए कि जस्तो लाग्छ। किनभने सामाजिक सञ्जाल जीवनशैली बनिसकेको थियो। एकाएक त्यो बन्द हुँदा युवाहरू आक्रोशित भए होलान्।
अर्कोतर्फ, त्यो बेलाका नेताहरूले पनि युवाहरूको सोच बुझेर काम गरेनन् कि?
त्यो आन्दोलनको के कुरा तपाईंलाई ठिक लाग्यो, के कुरा बेठिक लाग्यो?
मान्छे मारेको एकदमै बेठिक थियो। सरकारी अड्डा–अदालतमा आगजनी तथा तोडफोड गर्नु पनि गलत थियो। परिवर्तन हुनु र युवा सत्तामा पुग्नु ठिक मान्नुपर्छ।
आन्दोलनपछि देशमा केही राम्रो भए जस्तो लाग्छ कि, पहिले जस्तै छ?
खै, म त खासै फरक देख्दिनँ। जो आए पनि उस्तै हो जस्तो लाग्छ। हत्या–हिंसा रोकिएको छैन।
महँगी बढिरहेकै छ। क्षमता अनुसार काम पाउनै मुस्किल छ। काम पाए पनि तलब निकै कम हुन्छ।
यहाँ व्यापार पनि कसरी चलोस्! युवा उपभोक्ता जति जम्मै विदेशमा छन्। सीप र क्षमता अनुसारको श्रम मुलुकमै पाउने अवस्था बनाउन राज्य सञ्चालकले ध्यान दिनुपर्ने होइन र?
तपाईं र तपाईंको परिवारको जिन्दगी अब राम्रो हुन्छ भन्ने लाग्छ कि पहिले जस्तै हो भन्ने लाग्छ?
विकट पहाडमा बस्ने आम मान्छेलाई जो सत्तामा पुगे पनि उस्तै हो जस्तो लाग्छ। पहाडमा न आकर्षक रोजगारीका अवसर हुन्छन् न कमाउने ठाउँ छ। मेहनत गर्ने आफैले हो।
यत्ति हो, राज्यले त शान्ति सुरक्षा मजबुत पार्न सक्यो भने शारीरिक दुःखकष्ट जे भए पनि ढुक्कले बस्न पाइन्छ।
यो सरकारले गरेका राम्रा काम र गर्न नसकेका काम के–के हुन्?
खासै उल्लेख गर्नलायक केही भएको जस्तो लाग्दैन। किसानलाई रासायनिक मलको सास्ती छ। अस्तिसम्म बजारमा ग्यासको हाहाकार थियो। यातायात क्षेत्रको भाडा उत्तिकै बढेको छ।
सरकारको को पुग्छ भन्ने कुरा आम जनतालाई के मतलब हुन्छ र? आम जनताले व्यवहारमै अनुभूति पाउनुपर्छ।
पुराना पार्टी र नेताहरू आन्दोलनपछि सुधारिए कि उस्तै छन्?
राजनीतिमा खासै मलाई चासो छैन। तैपनि पुराना पार्टी र नेताहरूमा ठूलो सुधार वा रूपान्तरण आएको देख्दिनँ।
अहिले कुन पार्टीले देशलाई सही बाटोमा लैजान सक्छ जस्तो लाग्छ?
मलाई त सबै दलहरू उस्तै हुन् जस्तो लाग्छ। जो कोही सत्ताकै लागि हानथाप मात्रै गरिरहेका छन्। आफू सत्तामा भए ठीक, नत्र बेठीक भन्ने प्रवृत्ति सबैमा उत्तिकै छ जस्तो लाग्छ। त्यसैले यही दल वा पार्टीले मात्रै देशलाई सही बाटोमा लैजान सक्छ भन्न सक्दिनँ। राम्रा सबैले मिलेर काम गरे भने देश सही बाटोमा जान्छ जस्तो लाग्छ।
तपाईंलाई अहिले आशा लागेका तीन जना नेता को को हुन्?
ठ्याक्कै यी नेता भन्न सक्दिनँ। व्यक्तिभन्दा सिस्टममा चलाउन सके देश बन्ने हो। अहिलेको मताधिकार हेर्ने हो भने बालेन शाह र सुधन गुरूङहरू नै मुलुकले आशा गरेका व्यक्ति हुन्।
उनीहरूले के गरिदिऊन् भन्ने लाग्छ?
देश सिस्टममा चलाउन भूमिका खेलून्। केही गर्न चाहने महिला तथा युवाका लागि सहुलियतमा कर्जा राज्यले दिए राम्रो हुने थियो। हत्या–हिंसाका घटनाका दोषीलाई कठोर सजाय दिने व्यवस्था बनाऊन् भन्ने लाग्छ। भ्रष्टाचार अन्त्य गरिदिऊन् भन्ने मनमा छ।
सहर बजारमा मात्रै विकास गर्ने होइन, विकट पहाडमा पनि त्यस्ता सुविधा पुर्याउन ध्यान दिनेछन् भन्ने आशा छ। विकट पहाडमा जनजीवन कष्टकर छ। बाटो, बिजुलीबत्ती, खानेपानीको राम्रो प्रबन्ध गर्लान् भन्ने आशा छ।
सेतोपाटी शृंखला 'हामी आममान्छे' पढ्न यहाँ क्लिक गर्नुहोस् — हामी आममान्छे