नेपालले चार वर्षका लागि पाएको एकदिवसीय क्रिकेट टिमको मान्यता एक वर्ष थप गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दका अनुसार २०२३ को मार्चसम्म नेपाललाई एकदवसीय टिमको मान्यता हुनेछ।
यसअघि नेपालले सन् २०१८ मार्चमा चार वर्षका लागि एकदिवसीय मान्यता प्राप्त गरेको थियो।
विश्वकप छनोटअन्तर्गत प्लेअफमा पपुवा न्युगिनीलाई पराजित गरेपछि नेपालले सन् २०२२ मार्चसम्मका लागि एकदिवसीय मान्यता पाएको थियो।
सन् २०२० मा कोरोना भाइरसका कारण विश्वकप लिग-२ का खेल प्रभावित बनेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपालको एकदिवसीय मान्यताको समय पनि थप गरेको चन्दले बताए।
'ओडिआई मान्यता २०२३ को मार्चसम्म थपिएको छ। कोभिडको कारणले ट्राइ-सिरिज नभएकोले आइसिसीले एक वर्ष समय थप गरेको हो,' चन्दले बुधबार क्यानको भर्चुअल साधारण सभामा भने।
नेपालले एकदिवसीय मान्यता पाएको पाँच महिनापछि सन् २०१८ अगस्टमा नेदरल्यान्ड्ससँग पहिलो एकदिवसीय खेल खेलेको थियो।
नेपालले एकदिवसीय मान्यता पाएको दुई वर्ष बित्दा अहिलेसम्म १० एकदिवसीय खेल मात्र खेलेको छ। जसमा नेपालले ५ खेलमा जित र ५ खेलमा हार बेहोरेको छ।
१० एकदिवसीय खेल मध्ये नेपालले नेदरल्यान्ड्ससँग खेलेका २ खेलमा १ मा जित र १ मा हार बेहोरेको छ।
ओमानविरुद्धको दुवै खेलमा नेपाल पराजित भएको छ।
युएईसँग नेपालले ४ एकदिवसीय खेल खेलेकोमा २ मा जित र २ मा हार बेहोरेको छ।
अमेरिकासँग खेलेका दुवै खेलमा नेपाल विजयी भएको छ।
एकदिवसीय मान्यता पछि नेपालले विश्वकप २०२३ लिग –२ को खेलअन्तर्गत ६ टिमविरुद्ध ३६ वटा एकदिवसीय खेल खेल्ने तय छ। जसमा नेपाल अहिलेसम्म चार खेल मात्र खेलेको छ।