नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी–२० सिरिज आयोजना हुने भएको छ।
क्यानले यस ऐतिहासिक सिरिजको बारेमा शुक्रबार जानकारी दिएको हो।
क्यानका अनुसार यो सिरिज सन् २०२६ को डिसेम्बर महिनामा सञ्चालन हुनेछ। खेल तालिका अनुसार पहिलो खेल डिसेम्बर ९, दोस्रो खेल डिसेम्बर ११ र तेस्रो तथा अन्तिम खेल डिसेम्बर १३, २०२६ मा हुने तय भएको छ।
यो सिरिज आयोजना गर्ने निर्णय स्कटल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद को कन्फरेन्सका क्रममा भएको थिय। उक्त अवसरमा नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट नियन्त्रण बोर्डका सचिव देवजित साइकिया बीच विशेष बैठक बसेको थियो।
सोही बैठकले नेपाल र भारत ‘ए’ बीचको टी–२० श्रृंखलाको टुंगो लगाएको हो।
खेल तालिका विवरण:
• पहिलो टी–२०: डिसेम्बर ९, २०२६
• दोस्रो टी–२०: डिसेम्बर ११, २०२६
• तेस्रो टी–२०: डिसेम्बर १३, २०२६