इटालीमा क्रिकेटको इतिहासमै पहिलो पटक शहरमा आधारित फ्रेन्चाइज क्रिकेट लिग 'इटालिया टी१०' को घोषणा गरिएको छ।
जसमा नेपालका आमिर अख्तरको कम्पनी एपेक्स टी१० मुख्य लगानीकर्ता र प्रवर्द्धकको रूपमा रहेको छ।
नेपालका पूर्व क्रिकेटर अख्तरले यसअघि नेपालमा एभरेष्ट प्रिमियर लिग (इपिएल) सञ्चालन गरेका थिए। अख्तर अध्यक्ष रहेको एपेक्स टी१० को सिइओमा नाद शाहिद रहेका छन्।
यो लिगको मुख्य व्यवस्थापकीय र लगानीकर्ताको भूमिकामा एपेक्स टी१० रहेको छ। इटाली क्रिकेट महासंघसँगको रणनीतिक सहकार्यमा यो ऐतिहासिक सम्झौता भएको हो।
'इटालिया टी१०' क्रिकेटको सबैभन्दा छिटो र रोमाञ्चक मानिने १० ओभरको फर्म्याटमा खेलिनेछ।
यस लिगमा इटालीका ६ वटा प्रतिष्ठित शहरहरूका टोलीले प्रतिस्पर्धा गर्नेछन्। सहभागी हुने शहरहरू रोम, मिलान, फ्लोरेन्स, नेपल्स, भेनिस र बोलोग्ना छन्।
प्रतियोगिताको आधिकारिक मितिहरू अझै विस्तृत रूपमा सार्वजनिक नभए पनि यो तयारी तीव्र पारिएको छ। यो लिगले इटालीको कला, संस्कृति र क्रिकेटको रोमाञ्चलाई एकै ठाउँमा जोड्ने विश्वास गरिएको छ।
