नेपाल र कर्नाटकबीच भएको अभ्यास खेलमा नेपाली टोलीले ११६ रनको फराकिलो जित दर्ता गरेको छ। धारिलो बलिङ मद्दतले नेपालले कर्नाटकको टोलीलाई सस्तैमा समेट्न सफल भएको थियो।
पहिले ब्याटिङ रोजेको नेपाल ४५ ओभरमा १८८ रनमा अलआउट भयो।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ४९ रन बनाए। ७० बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे पनि मात्र १ रनले अर्धशतक बनाउन चुके।
अन्य ब्याटरहरूमा ईशान पाण्डेले ३४ रन र देव खनाल तथा सन्दीप जोराले समान २७–२७ रनको योगदान दिए। तल्लो क्रममा बशिर अहमदले १९ रनमा अविजित रहँदा गुल्सन झाले ११ रन जोडे। अरु ब्याटरले उल्लेख्य रन जोड्न सकेनन्।
कर्नाटकका बलर कीर्थि एम. ले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएर नेपालको रन गतिलाई रोक्ने प्रयास गरेका थिए।
१८९ को लक्ष्य पछ्याएको कर्नाटकको टोली नेपाली बलरहरूको घातक बलिङसामु निरीह देखियो। पूरै टोली मात्र ७२ रनमा अलआउट हुन पुग्यो। नेपालको जितमा ललित राजबंशीले ४ ओभरमा १ मेडन राख्दै मात्र ५ रन खर्चेर २ विकेट।
यस्तै करण केसीले ५ ओभरमा ९ रन दिएर २ विकेट, बशिर अहमदले ३ ओभरमा ६ रन दिएर २ विकेट तथा शेर मल्लले ६ ओभरमा १७ रन खर्चेर २ विकेट हात पारे।
हेमन्त धामी र सन्दीप लामिछाने दुवैले १–१ विकेट लिएर कर्नाटकलाई दबाबमा राखे।