श्रीलंकाको गालेमा भएको पहिलो टेस्ट खेलमा भारतले घरेलु टोलीलाई १६५ रनको फराकिलो अन्तरले पराजित गरेको छ। भारतको यो सानदार जितमा युवा स्पिनर मानव सुथार नायक बने।
उनले दुवै इनिङग्समा कुल १० विकेट लिँदै श्रीलंकाली ब्याटिङ धरासायी पारे।
खेलको अन्तिम दिन श्रीलंकाका मध्यक्रमका ब्याटरहरूले कडा प्रतिरोध गरे पनि भारतीय बलरहरूको अगाडि उनीहरूको केही लागेन।
श्रीलंका भारतले दिएको ३७२ रनको लक्ष्य पछ्याउने क्रममा २०६ रनमा अलआउट भयो। त्यसअघि दोस्रो इनिङग्समा भारतले १९३ रन बनाएपछि श्रीलंकाले ३७२ रनको लक्ष्य पाएको थियो।
पहिलो इनिङग्समा भारतले ४६२ रन बनाउदा देवदू पाडिक्कल १६७ रन, केएल राहुल ८२ रन बनबाएका थिए। श्रीलंका भने पहिलो इनिङग्समा २८४ रनमा अलआउट हुँदा सोनाल दिनुशा १०० र निरोशन डिक्वेला ८० रन बनाएका थिए।
युवा स्पिनर मानव सुथारले यो खेलमा उच्च प्रदर्शन गरे। उनले पहिलो इनिङमा ४ विकेट र दोस्रो इनिङमा ५५ रन दिएर ६ विकेट (कुल १० विकेट) लिए। विशेषगरी खेलको अन्त्यतिर उनले मात्र १० बलको अन्तरमा श्रीलंकाका अन्तिम ४ विकेट लिएर खेल समाप्त पारे। सुथारको यो लगातार दोस्रो टेस्टमा पाँच वा सोभन्दा बढी विकेट लिने उपलब्धि हो।
भारतका लागि पहिलो इनिङमा देवदत्त पाडिक्कलले १६७ रनको विशाल शतकीय पारी खेलेका थिए। त्यस्तै, दोस्रो इनिङमा ऋषभ पन्तले आक्रामक ६६ रन बनाउँदै भारतलाई बलियो स्थितिमा पुर्याए। श्रीलंकाका लागि सोनल दिनुशाले पहिलो इनिङमा शतक र दोस्रो इनिङमा ८४ रन बनाए पनि अन्य ब्याटरबाट पर्याप्त साथ पाउन सकेनन्।
युवा भारतीय टोलीका लागि गालेको जित निकै महत्वपूर्ण छ। पछिल्लो समय स्पिन पिचमा संघर्ष गरिरहेको भारतले यसपटक भने उत्कृष्ट पुनरागमन गरेको छ। अनुभवी रवीन्द्र जडेजाले पनि महत्वपूर्ण विकेट लिएर सुथारलाई राम्रो साथ दिएका थिए।