क्यानडाको पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले आफ्नो पद छाडेका छन्। उनी बाहिरिएसँगै क्रिकेट क्यानडाले नयाँ प्रशिक्षकका लागि आवेदन आह्वान गरेको छ।
मोन्टी देसाई गत मे महिनामा क्यानडाको प्रशिक्षक नियुक्त भएका थिए। आफ्नो करिब चार महिनाको छोटो कार्यकालमा उनले घरेलु मैदान र स्कटल्याण्डमा सम्पन्न दुईवटा विश्वकप लिग-२ (त्रिकोणात्मक सिरिजमा टोलीको नेतृत्व गरेपछि उनले गत साता राजीनामा दिएका थिए।
क्रिकेट क्यानडाले आगामी अगस्ट २८ सम्म नयाँ प्रशिक्षकका लागि आवेदन दिन सकिने बताएको छ।
क्यानडाले आफ्नो अर्को शृङ्खला अक्टोबर ९ देखि ओमानमा खेल्ने तालिका छ, जहाँ उसले ओमान र नेपालको सामना गर्नेछ।
आफ्नो बिदाइका क्रममा देसाईले इन्स्टाग्राममा लेखेका छन्, ‘यो छोटो तर निकै अर्थपूर्ण यात्रा रह्यो। विगत तीन महिना 'अन्तरिम मुख्य प्रशिक्षक'का रूपमा सेवा गर्ने अवसर दिएकोमा क्रिकेट क्यानडाप्रति आभारी छु। हरेक नयाँ वातावरणले केही न केही सिकाउँछ। यो अनुभवले मेरो विश्वासलाई अझ बलियो बनाएको छ कि दिगो प्रदर्शन समय, विश्वास, तयारी, सुमधुर सम्बन्ध र सामूहिक जिम्मेवारीबाट मात्र सम्भव हुन्छ।’
उनले खेलाडी र सहयोगी कर्मचारीहरूलाई धन्यवाद दिँदै क्यानडाको क्रिकेटको सफलताको कामना समेत गरेका छन्।
हाल क्यानडा विश्वकप लिग-२ को अंक तालिकामा छैटौँ स्थानमा छ। अर्को वर्ष हुने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउन क्यानडाले शीर्ष चारभित्र पर्नु पर्नेछ। देसाई यसअघि सन् २०१९ मा पनि क्यानडाको प्रशिक्षकका रूपमा आबद्ध थिए।
मोन्टी देसाईले यस्तो समयमा पद छोडेका छन्, जतिबेला क्यानडाको क्रिकेट निकै कठिन र विवादित मोडबाट गुज्रिरहेको छ। सन् २०२६ को टी-२० विश्वकपमा क्यानडाले आफ्ना सबै चार खेल हारेको थियो। त्यस लगत्तै, क्यानडा र न्युजिल्याण्डबीचको खेलमा म्याच फिक्सिङ भएको आशंकामा आईसीसीको एन्टी-करप्सन युनिटले अनुसन्धान सुरु गरेको थियो।
यति मात्र नभई, सदस्यता सम्बन्धी नियमहरूको गम्भीर उल्लंघन गरेको भन्दै आईसीसीले गत मे महिनामा क्रिकेट क्यानडालाई दिने बजेट रोक्का गरेको थियो। पछि अहमदाबादमा भएको आईसीसीको बैठकले क्रिकेट क्यानडाको 'एसोसिएट सदस्यता' नै निलम्बन गरिदियो। अहिले पनि क्यानडाको बोर्ड निलम्बनमै छ र सदस्यता पुनस्र्थापनाका लागि आईसीसीले केही सर्तहरू राखेको छ।