पाकिस्तान विरुद्धको पहिलो टेस्ट खेलको पहिलो दिन इंग्ल्याण्डका दुई बलरहरू ओली रोबिन्सन र जोस टंगले उत्कृष्ट प्रदर्शन गर्दै समान ५-५ विकेट लिए।
क्रिकेटको परम्पराअनुसार ५ विकेट लिने बलरले उक्त 'म्याच बल' आफ्नो साथमा लैजाने गर्छन्। तर, यहाँ दुवैले ५-५ विकेट लिएपछि कसले बल राख्ने भन्ने द्विविधा भयो।
यसको समाधानका लागि उनीहरूले एउटा रोचक जुक्ति निकाले— बललाई बीचबाटै काटेर आधा-आधा बाँड्ने।
हेडिङ्ले मैदानका कर्मचारीहरूले मेसिनको सहायताले बललाई सफासँग दुई टुक्रा पारिदिए, जसलाई रोबिन्सन र टंगले खुसीसाथ बाँडेर लिए। रोबिन्सनले भने, 'हामी मैदानबाट बाहिरिँदै गर्दा मैले टंगलाई बल बाँडौँ कि भनेर सोधेँ, उसले पनि सहमति जनायो। क्रिकेट बल आधा काटेर राख्नु एउटा दुर्लभ र कहिल्यै नबिर्सिने क्षण हुनेछ।'
इंग्ल्याण्डको टेस्ट इतिहासमा दुई बलरले एउटै इनिङमा ५-५ विकेट लिएको यो १६औँ पटक मात्र हो। यसअघि सन् २००६ मा पाकिस्तान विरुद्ध नै स्टिभ हार्मिसन र मोन्टी पानेसरले यस्तो सफलता हात पारेका थिए। त्यसको २० वर्षपछि रोबिन्सन र टंगले यो उपलब्धि दोहोर्याएका हुन्।
जो रुटको कप्तानीमा पुनरागमन गरेको इंग्ल्याण्डका लागि यो दिन निकै सुखद रह्यो। पाकिस्तानको टोली पहिलो इनिङमा मात्र १७१ रनमा समेटियो। टंगले पुछारका ब्याट्सम्यानहरूलाई आउट गरेर 'द मप' (सफाइ गर्ने) उपनामलाई चरितार्थ गरे भने रोबिन्सनले माथिल्लो क्रमका ब्याट्सम्यानलाई धराशायी बनाए।
ओली रोबिन्सनका लागि यो साता व्यक्तिगत रूपमा पनि निकै विशेष रह्यो। अघिल्लो बिहीबार मात्र उनी दोस्रो पटक बुबा बनेका थिए।
उनकी छोरी एभाको जन्म भएको केही दिनमै मैदान उत्रिएका उनले यो सफलता आफ्नी श्रीमती र छोरीलाई समर्पित गरे। उनले भने, 'नयाँ बच्चा जन्मिएपछि परिवार छोडेर खेलमा आउनु सजिलो थिएन, तर आजको प्रदर्शनले त्यो त्यागलाई सार्थक बनाएको छ।'
फिटनेसका कारण टोलीमा भित्र-बाहिर भइरहेका ३२ वर्षीय रोबिन्सनले आफ्नो खेलमा सुधार आएको र अहिले आफू शारीरिक रूपमा निकै फिट महसुस गरिरहेको बताए।