अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को एउटा पुनरावेदन प्यानलले पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियमलाई दिइएको 'डिमेरिट प्वाइन्ट' खारेज गरिदिएको छ।
गत जुनमा पाकिस्तान र अष्ट्रेलियाबीच भएको तेस्रो एकदिवसीयखेलको पिच 'संतोषजनक’ नभएको भन्दै आइसिसीले डिमेरिट अंक दिएको थियो। गद्दाफी स्टेडियमको इतिहासमा यो पहिलो डिमेरिट प्वाइन्ट थियो।
उक्त खेलमा अष्ट्रेलिया ४२ ओभरमा १५७ रनमै अलआउट भएको थियो र पाकिस्तानले ४ विकेटले खेल जितेको थियो। पिचले स्पिन बलरहरूलाई अचाक्ली सहयोग गरेको र ब्याटिङ गर्न निकै गाह्रो भएको भन्दै म्याच रेफ्री ग्रेम लाब्रूयले यसलाई 'कमजोर' स्तरको रेटिङ दिएका थिए।
तर, पाकिस्तानी कप्तान शाहिन अफ्रिदीले आफ्नो टोलीको रणनीतिको बचाउ गर्दै घरेलु टोलीले आफ्नो अनुकूल पिच बनाउनु सामान्य भएको बताएका थिए।
पाकिस्तान क्रिकेट बोर्डले यो सजाय विरुद्ध उजुरी दिएको थियो। आईसीसीको प्यानलले खेलको भिडियो फुटेज, रेफ्रीको रिपोर्ट र दुवै टोलीको भनाइ पुन: अध्ययन गरेपछि पिचमा ‘अचाक्ली असमानता वा स्पिन’ नदेखिएको निष्कर्ष निकाल्दै सजाय फिर्ता लिने निर्णय गरेको हो।
पिच विवादमा पाकिस्तानले आइसिसीविरुद्ध जित हासिल गरेको यो दोस्रो पटक हो। यसअघि सन् २०२२ मा रावलपिन्डी स्टेडियमलाई दिइएको सजाय पनि पाकिस्तानले पुनरावेदन मार्फत हटाउन सफल भएको थियो।
क्यानडाको किंग सिटीस्थित 'म्यापल लिफ क्रिकेट मैदान' ले पाएको तीन डिमेरिट प्वाइन्ट भने यथावत राखिएको छ। क्यानडा र नेदरल्याण्ड्सबीचको खेलमा पिच 'खेल्न अयोग्य' रहेको भन्दै दिइएको सजायलाई प्यानलले सही ठहर्याएको छ। यद्यपि, सोही मैदानमा भएको अमेरिका र नेदरल्याण्ड्सबीचको अर्को खेलको सजाय भने हटाइएको छ।