अस्ट्रेलियाको डार्बीनमा भइरहेको टप एन्ड टी-२० सिरिजको पहिलो खेलमा नेपालको ए राष्ट्रिय टोलीले ८ विकेटले पराजित भएको छ।
नेपालले दिएको १२३ रनको लक्ष्य घरेलु टोली एनटी स्ट्राइकले २ विकेटको क्षतिमा १५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो।
उसका लागि होगेनबोजेमले नटआउट ५० रन र जोर्डन सिल्कले नटआउट ४२ रन बनाए।
त्यसअघि नेपालका त्रितराज दासले पवन सर्राँफको बलमा जागा कोडुरुलाई ८ रनमा लिएको क्याचले चर्चा पायो। दासले हावामा उडेर एक हातले क्याच लिए।

त्यसअघि घरेलु टोली एनटी स्ट्राइकले टस जितेर पहिले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १२२ रनमा मात्र जोड्न सक्यो।
नेपालका लागि मध्यक्रमका ब्याटर पवन सर्राफले ४१ रन बनाए। उनले ४९ बलमा ३ चौका र १ छक्का प्रहार गरे।
खराब सुरुवात गरेको नेपालका ओपनर कुशल भुर्तेल इनिङग्सको पाँचौ बलमा शून्यमा क्याच भए। त्यसपछि कप्तान अनिलकुमार साह ९ बलमा १४ रन जोडेर आउट भए।
ओपनर त्रितराज दास पनि १३ रनमा आउट भएपछि नेपाल सुरुमै संकटमा पर्यो। अझ कुशल मल्ल ९ रनमा रनआउट भएपछि नेपाल झिनो योगफलमा समेटिने खतरामा थियो।
त्यसपछि सर्राफले सम्हालिएर ब्याटिङ गरे भने लोकेश बमसँग पाँचौ विकेटका लागि ३० रनको साझेदारी गरे। लोकेशले १३ बलमा १ चौका र १ छक्काको मद्दतमा १६ रन बनाउन सके।
रशिद खानले १० रन र नारायण जोशीले ८ बलमा १ चौका र १ छक्काको मद्दतमा १५ रन बनाएपछि नेपालको सम्मानजनक योगफल तयार भयो।
बलिङमा एनटीका हमिश मार्टिनले ३ विकेट लिए। उनले ४ ओभरमा १९ रन दिए।
आजदेखि सुरु भएको सिरिजमा नेपाल ‘ए’ ले नेपालले भोली बंगलादेश हाई पर्फर्मेन्स र भदौ ८ मा होबार्ट हरिकेन्स एकेडेमी खेल्नेछ।
यस्तै भदौ १० मा अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ ११ मा हैदरावाद किङ्समेन एकेडेमी तथा भदौ १३ मा भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने छ।
क्यानका अनुसार अष्ट्रेलियामा रहँदा नेपाल ‘ए’ ले न्युजिल्याण्ड ‘ए’, तास्मानिया र साउथ अस्ट्रेलियाविरूद्ध एकदिवसीय अभ्यास खेलसमेत खेल्ने तालिका छ।