एसिसी प्रिमियर कपको तयारीका लागि भारतको बेंगलुरुमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित निकालेको छ।
नेपालले शुक्रबार भएको दोस्रो अभ्यास खेलमा कर्नाटाकालाई ५ विकेटले पराजित गर्यो।
२४३ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ४४.३ ओभरमा पूरा गर्यो।
नेपालका लागि देव खनालले नटआउट १०० रन बनाए। उनले ११३ बलमा ४ चौका र २ छक्का प्रहार गरे।
बसिर अहमद २२ रनमा नटआउट रहदा अर्जुन कुमाल २६ रन र आशिफ शेख३ ३८ रनमा आउट भए।
इशान पाण्डे ६ रन, रोहित पौडेल १२ रन र सन्दीप जोरा ३० रनमा आउट भएका थिए।
त्यसअघि कर्नाटककाले ८ विकेटको क्षतिमा २४२ रन बनायो। उसका लागि शहर्ष रेड्डीले ४३ रन र सरथ श्रीनिवासले ४८ रन बनाए।
बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले ३-३ विकेट लिए। हेमन्त धामीले २ विकेट हात पारे।
भारतमा अभ्यास गरेपछि नेपाली टोली मलेसिया जानेछ। त्यहाँ पनि एक साता तयारी गरेपछि नेपालले प्रिमियर कपमा प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालले समूह चरणमा हङकङ, आयोजक मलेसिया, बहराइन र साउदी अरेबियासँग खेल्नेछ। अर्को समूहमा युएई, ओमान, कुवेत, कतार र सिंगापुर छन्।
नेपालले पहिलो खेल भदौ १५ गते बहराइनसँग खेल्नेछ। दोस्रो खेल भदौ १८ गते मलेसिया, तेस्रो खेल भदौ २१ गते साउदी अरेबिया र अन्तिम खेल भदौ २३ मा हङकङसँग खेल्नेछ।
समूहमा शीर्ष दुईमा परे नेपाल सेमिफाइनल पुग्नेछ। सेमिफाइनल भदौ २५ गते, तेस्रो स्थान र फाइनल खेल भदौ २७ गते हुनेछ।
२०२७ को एसिया कपमा छनोट हुनका लागि नेपाल यो प्रतियोगिताको शीर्ष तीन टोलीभित्र पर्नुपर्नेछ।