कोलम्बो टेस्टको पहिलो दिन मैदानमा भएको 'अमर्यादित व्यवहार' का कारण भारतीय ब्याटर यशस्वी जैशवाल र श्रीलंकन बलर असिथा फर्नान्डो कारबाहीमा परेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषदले दुवै खेलाडीलाई म्याच फिको २५ प्रतिशत जरिवाना गर्ने निर्णय गरेको छ।
आइतबार खेलको १७औँ ओभरको अन्तिम बलमा असिथाले जैशवाललाई आउट गरेका थिए। आउट भएर पभिलियन फर्कँदै गरेका जैशवाल श्रीलंकन खेलाडीहरूको खुसीयाली मनाइरहेको समूहबाट केही शब्द सुनेपछि एकाएक बलर असिथातर्फ फर्किएका थिए।
दुवैबीच भनाभन भएको थियो र जैशवाल असिथाको निकै नजिक पुगे। त्यस क्रममा जैशवालको हेलमेट असिथाको निधारमा ठोकिन पुगेको थियो।
भिडियो प्रमाणका आधारमा जैशवाल आफैँ बलरको नजिक गएर शारीरिक सम्पर्क सुरु गरेको देखिएको छ। आईसीसीले यसलाई 'अनुपयुक्त शारीरिक सम्पर्क' (भन्दै आचारसंहिताको धारा २.१२ को उल्लंघन मानेको छ।
दुवै खेलाडीको म्याच फिको २५ प्रतिशत रकम काटिनेछ। दुवैको अनुशासन रेकर्डमा एक–एक 'डिमेरिट प्वाइन्ट' थपिएको छ। पछिल्लो २४ महिनामा यी दुवै खेलाडीले यस्तो गल्ती गरेको यो पहिलो पटक हो।