न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसम जनकपुर बोल्ट्समा फर्किएका छन्।
जनकपुर बोल्ट्सबाट आउँदो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटका लागि मंगलबार आफ्नो समाजिक प्लेटफर्मबाट ३५ वर्षे निसमलाई अनुबन्ध गरेको जनाएको छ ।
निसमले २०२४ को पहिलो सिजनमा जनकपुरलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । सोक्रममा उनले ९ खेलमा १९६ माथिको स्ट्राइक रेट र ३५ माथिको औषतमा २४७ रन बनाएका थिए । सबैभन्दा ठुलो स्ट्राइक रेटमा रन बनाएको कारण उनलाई पहिलो सिजनको एनपिएलमा वेस्ट स्ट्राइक रेटको अवार्ड दिइएको थियो ।
पहिलो सिजनको एनपिएलमा निसमले जनकपुरबाट खेल्दै ७ विकेट पनि लिएका थिए । जनकपुरबाट ‘क्याप’ खेलाडीको कोटामा खेलेका उनी समर्थकमाझ निकै लोकप्रिय छबि बनाएका थिए ।
‘जिम्मीले मैदानमा मात्र होइन, हाम्रा समर्थकहरुको मनमा पनि विशेष स्थान बनाएका छन्, उनको निष्ठा र जनकपुर बोल्ट्ससँगको सम्बन्ध आफैंमा एउटा सुन्दर कथा हो । च्याम्पियन बनेको पहिलो सिजनको त्यो नायक आज फेरि आफ्नै घर फर्किएका छन् ।’ निरोज खतिवडा, प्रमुख कार्यकारी अधिकृत, जनकपुर बोल्ट्स ।
तर दोस्रो सिजनमा जनकपुरसँग क्याप खेलाडीको कोटा रहेको थिएन् । त्यसपछि उनी पोखरा एभेन्जर्स लागेका थिए । ४ खेलमात्र खेलेका उनले एक अर्धशतकसहित ९९ रन बनाउनुका साथै ५ विकेट लिएका थिए ।
निसम यसपटक टेस्ट कोटामै जनकपुरबाट खेल्ने छन् । उनले न्युजिल्यान्डबाट १२ टेस्ट, ७६ एकदिवसीय अन्तर्राष्ट्रिय र १ सय ५ टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । फेब्रुअरीमा उनले न्युजिल्यान्डबाट भारतविरुद्ध टी–२० विश्वकप फाइनल खेलेका थिए ।
उनले विश्वव्यापी फ्रेन्चाइज लिग खेल्दै आएका छन् । निसमले दिल्ली डेरडेभिल्स, पञ्जाब किंग्स, मुम्बई इन्डियन्स, राजस्थान रोयल्सबाट इन्डियन प्रिमियर लिग खेलेका छन् भने लंका प्रिमियर लिग, भाइटालिस्ट ब्लास्ट, बंगलादेश प्रिमियर लिग, यूएईको आइएल टी–२०, पाकिस्तान सुपर लिग, साउथ अफ्रिका टी–२०, द हन्ड्रेड, बिग बास लिग, क्यारेबियन प्रिमियर लिग खेलेका थिए । दुई वर्ष अगाडि जनकपुरलाई च्याम्पियन बनाउनु उनको फ्रेन्चाइज क्रिकेटमा पहिलो उपाधि थियो ।