नेपाली क्रिकेट टोलीले अहिले अर्को साता मलेसियामा सुरु हुने एसिसी प्रिमियर कपको अन्तिम तयारी गरिरहेको छ।
भारतको बेंगलुरुमा दश दिनको क्याम्पपछि नेपाल मलेसिया पुगेको छ।
मलेसियामा नेपालले घरेलु टोलीसँग मंगलबार अभ्यास खेल्दा ९ विकेटको जित निकालेको छ।
नेपालले मलेसियाले दिएको २२८ रनको एक विकेटको क्षतिमा पूरा गर्यो। वर्षाका कारण नेपाललाई ४८ ओभरमा नयाँ लक्ष्य दिइएको थियो।
नेपालका लागि ओपनर आसिफ शेखले १६१ रन बनाए। उनले ८५ बलमा १२ चौका र १२ छक्का प्रहार गरे। अर्जुन कुमालले ६१ रन बनाउँदा ८२ खेलेर ८ चौका प्रहार गरे। दुईबीच २२० रनको विशाल साझेदारी भएको थियो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ४८.२ ओभरमा २३२ रनमा अलआउट भयो।
मलेसियाका लागि मुहम्मद स्याहादात रामलीले ६१ रनको महत्वपूर्ण इनिङ खेले। यस्तै सैफुल्लाह मलिकले ४५, साइद अजिजले ४० तथा विरानदीप सिंहले ३९ रन बनाए।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए। करण केसीले २ तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट हात पारे।
एसिसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ। नेपालले समूह चरणमा हङकङ, आयोजक मलेसिया, बहराइन र साउदी अरेबियासँग खेल्नेछ। अर्को समूहमा युएई, ओमान, कुवेत, कतार र सिंगापुर छन्।
नेपालले पहिलो खेल भदौ १५ गते बहराइनसँग खेल्नेछ। दोस्रो खेल भदौ १८ गते मलेसिया, तेस्रो खेल भदौ २१ गते साउदी अरेबिया र अन्तिम खेल भदौ २३ मा हङकङसँग खेल्नेछ।
समूहमा शीर्ष दुईमा परे नेपाल सेमिफाइनल पुग्नेछ। सेमिफाइनल भदौ २५ गते, तेस्रो स्थान र फाइनल खेल भदौ २७ गते हुनेछ।
२०२७ को एसिया कपमा छनोट हुनका लागि नेपाल यो प्रतियोगिताको शीर्ष तीन टोलीभित्र पर्नुपर्नेछ।