नेपाली क्रिकेट टोली यतिबेला मलेसियामा छ। एसिसी प्रिमियर कपका लागि मलेसियामा रहेको नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो तलब तथा नेपालले लिने हरेक विकेट र चौका-छक्काको बराबरको रकम बाढी पीडितलाई सहयोग गर्ने बताएका छन्।
‘हामी मलेसियामा हुने एसीसी प्रिमियर कपमा नेपालको प्रतिनिधित्व गर्न तयार हुँदै गर्दा हाम्रो मन सधैं नेपालको सबैजनासँग र देशले भोगिरहेको कठिन समयसँग जोडिएको छ। यति हुँदाहुँदै पनि हामी चुनौतीका लागि तयार छौं र मैदानमा आफूसँग भएको सबै कुरा दिनेछौं, ’ सन्दीपको भनाइ छ।
उनले अघि लेखेका छन्, ‘केवल नतिजाभन्दा बढी, हामी आशा गर्छौं कि हाम्रो प्रदर्शनले नेपालका मानिसहरूको अनुहारमा केही मुस्कान ल्याउन सकोस् र उनीहरूलाई खुसी हुने केही कारण दिन सकोस्। एउटा सानो योगदानको रूपमा,म क्रिकेट एसोसिएसन अफ नेपालबाट पाउने एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दान गर्नेछु। साथै एसीसी प्रिमियर कपभरि नेपालले लिएको हरेक विकेटका लागि र हामीले हिर्काएको हरेक चौका-छक्काका लागि म १५०० रुपैयाँ योगदान गर्नेछु। यो रकम बाढी प्रभावित बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराउन प्रयोग हुनेछ, किनकि उनीहरूका सपना कहिल्यै बगेर जानु हुँदैन। हरेक विकेट। हरेक बाउन्ड्री। हरेक उत्साह नेपालका लागि हो। हामी नेपालबाट टाढा भए पनि नेपाल सधैं हाम्रो हृदयमा छ।’
सन्दीपले क्यानबाट मासिक एक लाख २० हजार तलब बुझ्ने गर्छन्।
एसिसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ। नेपालले समूह चरणमा हङकङ, आयोजक मलेसिया, बहराइन र साउदी अरेबियासँग खेल्ने छ। अर्को समूहमा युएई, ओमान, कुवेत, कतार र सिंगापुर छन्।
नेपालले पहिलो खेल भदौ १५ गते बहराइनसँग खेल्नेछ। दोस्रो खेल भदौ १८ गते मलेसिया, तेस्रो खेल भदौ २१ गते साउदी अरेबिया र अन्तिम खेल भदौ २३ मा हङकङसँग खेल्नेछ।
समूहमा शीर्ष दुईमा परे नेपाल सेमिफाइनल पुग्नेछ। सेमिफाइनल भदौ २५ गते, तेस्रो स्थान र फाइनल खेल भदौ २७ गते हुनेछ।
२०२७ को एसिया कपमा छनोट हुनका लागि नेपाल यो प्रतियोगिताको जित्नु पर्नेछ।