एसिसी प्रिमियर कपमा हङकङले समूह ‘ए’ मा विजयी सुरुवात गरेको छ। हङकङले आइतबार मलेसियामा भएको खेलमा साउदी अरेबियामाथि १६ रनको जित निकाल्यो।
पहिले ब्याटिङ गरेको हङकङले बाबर हायातको ७३ रन, अंशुमन रथको ६४ रन र कप्तान यासिम मुर्तजाको ५४ रनको मद्दतमा २७३ रन जोडेको थियो।
२७४ रनको लक्ष्य पछ्याएको साउदी ४ बल खेल्न बाँकी छदा २५७ रनमा अलआउट भयो। साउदीक लागि मनन अलीले ५४ रन बनाए भने फैसल खान र हिशाम शेखले ५०-५० रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन।
बलिङमा हङकङका यसिम मुर्तजाले ३ विकेट लिए।
यो समूहमा हङकङ र साउदीसहित नेपाल, मलेसिया र बहराइन छन्। अर्को समूहमा युएई, ओमान, कुवेत, कतार र सिंगापुर छन्। अर्को समूहमा आइतबार ओमानले सिंगापुरलाई १३१ रनले हरायो।
प्रतियोगितामा नेपालले पहिलो खेल भदौ १५ गते नेपबहराइनसँग खेल्नेछ। दोस्रो खेल भदौ १८ गते मलेसिया, तेस्रो खेल भदौ २१ गते साउदी अरेबिया र अन्तिम खेल भदौ २३ मा हङकङसँग खेल्नेछ।
समूहमा शीर्ष दुईमा परे नेपाल सेमिफाइनल पुग्नेछ। सेमिफाइनल भदौ २५ गते, तेस्रो स्थान र फाइनल खेल भदौ २७ गते हुनेछ।
२०२७ को एसिया कपमा छनोट हुनका लागि नेपाल प्रतियोगिताको जित्नु पर्नेछ।