मलेसियामा जारी एसिसी प्रिमियर कपमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ।
सोमबार बहराइनलाई ७ विकेटले पराजित गर्दै नेपालले सानदार सुरुवात गरेको हो।
बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।
त्यसअघि ओपनिङ ब्याटर तथा विकेटकिपर आसिफ शेख १८ रन बनाएर आउट भए। उनले २५ बलमा २ चौका र १ छक्का प्रहार गरे।
देव खनाल १९ बलमा १० रन जोडेर आउट भए भने इशान पाण्डे १ रनमा रनआउटको सिकार भए।
ओपनर अर्जुन कुमालले ५८ बलमा ५ चौकाको मद्दतमा नटआउट ३६ रन बनाए। रोहितकुमार पौडेलले १४ बलमा नटआउट १९ रन बनाए। उनले १ चौका र १ छक्का प्रहार गरे।
टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बहराइन ३६.२ ओभरमा ८७ रनमै अलआउट भयो।
बहराइनको ब्याटिङ ध्वस्त पार्न नेपालका कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिए। उनले १० ओभरमा केवल १४ रन खर्चिए भने ४ ओभर त मेडन नै फ्याँके।
यस्तै ललितराजवंशी ३ विकेट लिए भने करण केसीको नाममा २ विकेट रह्यो।
बहराइनका लागि फैज अहमदले सबैभन्दा बढी १५ रन जोड्न सके।
प्रतियोगितामा नेपालले दोस्रो खेल भदौ १८ गते मलेसिया, तेस्रो खेल भदौ २१ गते साउदी अरेबिया र अन्तिम खेल भदौ २३ मा हङकङसँग खेल्नेछ।
समूहमा शीर्ष दुईमा परे नेपाल सेमिफाइनल पुग्नेछ। सेमिफाइनल भदौ २५ गते, तेस्रो स्थान र फाइनल खेल भदौ २७ गते हुनेछ।
२०२७ को एसिया कपमा छनोट हुनका लागि नेपालले प्रतियोगिताको जित्नु पर्नेछ।