कतारमा जारी डीपी वर्ल्ड एसिया कप राइजिङ स्टार्स मेन्स क्रिकेट प्रतियोगितामा नेपालले आज भारत ‘ए’सँग खेल्दै छ।
नेपालले भारतको ‘ए’ टिमसँग खेल्न लागेको हो।
खेल दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार आज दिउँसो ३:४५ बजे सुरु हुनेछ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोली भारत ‘ए’विरुद्ध जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गर्ने लक्ष्यमा हुनेछ।
नेपालले प्रतियोगिताका लागि अनुभवी र युवा खेलाडी सम्मिलित १६ सदस्यीय टोली घोषणा गरेको छ।
टोलीमा कुशल भुर्तेल, ललित राजवंशी, पवन सर्राफजस्ता अनुभवी खेलाडी छन्।
सोमपाल चोटग्रस्त भएपछि उनको स्थानमा प्रतिश जिसीलाई टोलीमा समावेश गरिएको छ।
५० ओभरको खेल हुने प्रतियोगितामा आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
नेपाल रहेको समूह ‘बी’मा भारत ‘ए’, पाकिस्तान शाहिन्स र संयुक्त अरब इमिरेट्स (यूएई)सँगै छ।
समूह ‘ए’मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन्। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
प्रतियोगिताको पहिलो सेमिफाइनल नोभेम्बर २६, दोस्रो सेमिफाइनल नोभेम्बर २७ र फाइनल नोभेम्बर २९ मा हुनेछ।
नेपाली टोली- सन्दीप लामिछाने (कप्तान), बासिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, लोकेश बम, कुशल भुर्तेल, प्रतिश जिसी, दीपक डुम्रे, सन्दीप जोरा, अभिषेक गौतम, इशान पाण्डे, राशिद खान, देव खनाल र मयन यादव।