इंग्लिस प्रिमियर लिगमा आर्सनलले विजयी सुरूवात गरेको छ। शनिबार साँझ भएको खेलमा आर्सनलले फुलह्यामलाई ३-० गोलले पराजित गरेको हो।
आर्सनलका लागि एलेक्जेन्डर लेकाजेटले आठौं मिनेटमा पहिलो गोल गरेका थिए।
पहिलो हाफमा १-० को अग्रता लिएको आर्सनलका लागि ४९ मिनेटमा सेन्टर ब्याक ग्राबियलले अग्रता दोब्बर पारे।
उनले विलियनको पासमा गोल गरेका थिए। विलियन र ग्राबियल यसै सिजन आर्सनलमा आएका हुन्। दुवैले खेलमा डेब्यू गरेका थिए।
खेलमा विलियनले प्रहार गरेको फ्रिकिक पोस्टमा लागेको थियो।
५७ मिनेटमा आर्सनलका लागि पियरी इमेरिक आउबामेयाङले तेस्रो गोल गरे। यसपटक पनि विलियनले नै गोल गर्न पास उपलब्ध गराएका थिए।
शनिबारदेखि सुरु भएको प्रिमियर लिगमा तीन खेल हुँदैछ। केहिबेरमा क्रिस्टल प्यालेस र साउथह्याम्टनबीच खेल हुँदैछ।
यस्तै साविक विजेता लिभरपुल र नवप्रवेशी लिड्स युनाइटेड तथा वेस्ट ह्याम र न्युकासल युनाइटेडबीच खेल हुनेछ।
म्यानचेस्टर युनाइटेड र वर्नली तथा म्यानचेस्टर सिटि र एस्टन भिल्लाबीचको खेल भने स्थगित गरिएको छ।