नेपाली फुटबलको सर्वोच्च प्रतियोगिता सहिद स्मारक ए डिभिजन लिग भर्खर सुरुवात भएर पहिलो चरणको खेल सकिएको छ।
कोभिड महामारी तथा विविध कारणले रोकिएको लिगले नेपाली फुटबलको रौनक फर्काएको देख्न सकिन्छ।
पहिलो चरण सकिँदा उपाधि दावेदार केहि क्लब जितसहित प्रतियोगिता सुरुवात गर्दा केहि बराबरीमै चित्त बुझाएका छन्।
खेलाडी किनबेच, अनुबन्धन र तयारीमा क्लबले गरेको लगानि हेर्दा यो वर्षको लिग प्रतिस्पर्धात्मक हुने आँकलन गर्न सकिन्छ।
हालसालै राष्ट्रिय टोलीबाट सँगै रहेर खेलेका तथा राष्ट्रिय टोलीमा पर्न संघर्षरत खेलाडीहरु एक अर्का विरुद्ध खेल्दाको रोमान्चकता छुट्टै देखिनेछ। फरक फरक मैदानको प्रयोग, सप्तान्तमा हुने खेल तालिका र समय, सहुलियतपूर्ण टिकटदर राखेर दर्शकको उपस्थिति बढाउन एन्फाले गरेको प्रयास सकारात्मक छ।
लिगलाइ देशव्यापी बनाउन तथा विश्वस्तरिय प्रविधिको प्रयोगमा अझ धेरै गर्न बाँकी रहेको भए पनि देशको एकमात्र लिगको सुधारमा गरेको सुरुवातको प्रशंशा गर्नै पर्छ।
फुटबलमा टिमको १२औं खेलाडीको रुपमा दर्शक तथा समर्थकलाई चित्रण गरिन्छ। फुटबल विकासका लागि मेरुदण्डको रुपमा रहेको लिगमा आ-आफ्नो टिमको समर्थनमा रंगशालामा उपस्थित हुने हो भने खेलाडीहरुमा हौसला बढ्नुका साथै खेलमा पनि सुधार आउनेछ।
आफ्नो टिमको समर्थनमा ब्यानर, झण्डा, नारा, बाजा₋गाजा तथा जर्सि लगाएर मैदान बाहिरको माहोल गुन्जायमान गराउन हामी समर्थकको उपस्थिति अनिवार्य छ। खेलभावनाको प्रयोग गर्दै स्वदेशि तथा विदेशी खेलाडीहरुलाई सम्मान गर्ने, व्यक्तिगत वादविवाद नगर्ने, सुरक्षार्थ खटिएका प्रहरी तथा उपस्थित महिला समर्थकहरुको सम्मान गर्ने हो भने रंगशाला उपस्थित हुने समर्थकको संख्या वृद्धि गराउन सकिन्छ।
नेपाली फुटबलमा लिग हेर्ने दर्शकहरुको क्लब अनुसारको समर्थक समुह बनाउने, एकै ठाउँमा केन्द्रित रहेर टोली तथा खेलाडीको समर्थनमा हुटिंङ लगाउने कार्य केहि बर्ष अगाडिको लिगमा सुरुवात भएको भए पनि लिगको नियमितताको अभाव अनि क्लबहरुको बेवास्ताले उत्त कार्य सुस्ताएको छ।
मनाङ मर्स्याङ्दी, थ्रीस्टार, मछिन्द्र, आर्मी लगायतका क्लबले आफ्नो क्लबसँग जोडिने एउटा समूहलाइ आधिकारिकता प्रदान गर्दै समर्थकको माहोल स्थापित गराउन सुरुवात गरेका थिए। उक्त माहोललाइ पुनः फिर्ता लेराउन क्लबहरुले समर्थकलाई विभिन्न किसिमका उपहार प्याकेजहरु प्रदान गर्दै सामाजिक सञ्जालको अधिकतम प्रयोग गरि प्रचार गराउन सक्ने छन्।
एन्फा, क्लब, खेलाडी तथा समर्थकहरुले एक अर्काको सम्मान गर्दै साझेदारी गर्ने हो भने नेपाली फुटबलमा ए डिभिजन लिग मार्फत रौनक पुनः फिर्ता ल्याउन सक्ने देखिन्छ।
पहिलो चरणको खेल सकिँदा केहि खेलमा उपस्थिति दर्शकको संख्याले सकारात्मक संकेत गरेको छ जसलाइ लिग अवधिभर कायम राख्न एन्फा तथा क्लबले विशेष ध्यान पुर्याउनु आवश्यक छ। दर्शकको उपस्थितिले लिगको औचित्य प्रमाणित गर्ने छ।
नेपाली फुटबलको विकास तथा प्रचारप्रसारका लागि अब जुट्ने बेला आएको छ।