विश्वकप २०२६ विजेता स्पेन अर्जेन्टिनालाई उछिन्दै फिफा पुरूष वरिपयतामा पहिलो स्थानमा पुगेको छ।
अर्जेन्टिना दोस्रो स्थानमा झर्दा फ्रान्स तेस्रो स्थानमै कायम छ।
२०२६को विश्वकप फाइनलमा स्पेनले अर्जेन्टिनालाई १-० ले पराजित गरेपछि स्पेन जनवरी यता पहिलो पटक शीर्ष स्थानमा उक्लिएको हो।
यही विश्वकपमै तेस्रो र चौथो स्थानका लागि फ्रान्स र इंग्ल्याण्डबीच प्रतिस्पर्धा भएको थियो। जसमा इंग्ल्यान्डले फ्रान्सलाई ६-४ गोलले पराजित गरेको थियो। वरियतामा फ्रान्स तेस्रो स्थानमा रहँदा चौथो स्थानमा इंग्ल्यान्ड छ।
ब्राजिलले एक स्थान सुधार गर्दै पाँचौं स्थानमा उक्लिएको छ।
मोरोक्कोले इतिहासकै उच्च स्थान हासिल गरेको छ। मोरोक्को छैटौं स्थानमा आइपुग्दा पोर्चुगल दुई स्थान तल झर्दै सातौं स्थानमा पुगेको हो।
बेल्जियम एक स्थान सुधार गर्दै आठौंमा पुगेको छ भने नेदरल्यान्ड्स एक स्थान तल झर्दै नवौंमा पुगेको छ।
मेक्सिको चार स्थान सुधार गर्दै शीर्ष १० मा प्रवेश गरेको छ। विश्वकपको क्वार्टरफाइनलसम्म पुगेको नर्वे सबैभन्दा धेरै सुधार गर्ने टोली बनेको छ। नर्वे १२ स्थान फड्को मार्दै १९औं स्थानमा पुगेको छ।
जर्मनी शीर्ष १० बाट बाहिरिँदै १२औं स्थानमा झरेको छ, विश्वकपमा छनोट हुन नसकेको इटाली १५औं स्थानमा झरेको छ।
ट्युनिसिया सबैभन्दा धेरै ओरालो लाग्ने टोली बनेको छ। १२ स्थान खस्कँदै ट्युनिसिया ५७औं स्थानमा पुगेको छ। इजिप्ट पाँच स्थान सुधार गर्दै २४औंमा पुगेको छ भने विश्वकपको अन्तिम १६ सम्म पुगेको पाराग्वे सात स्थान उक्लिँदै ३४औं स्थानमा पुगेको छ।
विश्वकपको अन्तिम ३२ सम्म पुगेको केप भेर्दे तीन स्थान सुधार गर्दै ६४औं स्थानमा पुगेको छ। घाना आठ स्थान सुधार गर्दै ६५औं स्थानमा उक्लिएको छ।
